पाँचथर, २१ जेठ/रासस
कोरोना परीक्षण गर्न अस्वीकार गरेका दुर्ईजना पुरुषको मृत्यु भएको छ। एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमैं गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुईजना पुरुषको बिहीवार मृत्यु भएको हो।
उनीहरूको कोरोनाका लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो।
फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए।
उनका अनुसार लक्षण देखिएका उनीहरूको परीक्षण हुन सकेको थिएन। “वडामा टोली आउँदा परीक्षण गराऔं भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन,” वडाध्यक्ष नेम्वाङले भने, “हिजो दुःखद घटना भयो।” उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए। एकको बिहीवार अपराह्न ३ः०० बजे घरैमैं मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिए।