प्रस, वीरगंज, २० जेठ/
प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबूराउत गद्दीले सङ्घीय सरकारले भारतसँग व्यापार घाटा न्यूनीकरणका लागि भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासीको व्यवस्था गरेकोमा आपत्ति जनाएका छन्।
बिहीवार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवच भएको बताउँदै प्रतिवर्ष बाढी, पहिरो, पानीको समस्या र कृषि उपजसमेतको समस्याबाट यहाँका जनता प्रताडित हुँदै आएको बताए। चुरे क्षेत्रको माटो कमजोर भएको र कमजोर भूबनोटका कारण यहाँबाट ढुङ्गा, गिट्टी निकाल्दा नदीको बहाव तीव्र हुने र बालुवा मधेसमा थुप्रेर जाने निश्चित रहेको बताए।
चुरे क्षेत्र बालुवा, गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदाको धनी भएको र प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे क्ष्Fेत्रमा रहेको कारण यसको दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने भन्दै सङ्घीय सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन्।
सरकारको निर्णय अदूरदर्शी भन्दै मुख्यमन्त्री गद्दीले प्रदेशबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने योजनाले देशको अन्नभण्डार प्रदेश २ को खेतीयोग्य जमीन मरुभूमीकरण हुने निश्चित भएको बताउँदै सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन्। उनले आग्रह अस्वीकार गरिए प्रदेश सरकारले आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन्।