प्रस, वीरगंज, २० जेठ/
वीरगंज पिपराका गुरुदेव उपाध्याय र उनकी पत्नी पदमा पोखरेल उपाध्यायले २५औं वैवाहिक वर्षगाँठ बिहीवार वीरगंज रानीघाटस्थित मानव सेवा आश्रममा मनाएका छन्।
सो अवसरमा उपाध्याय दम्पतीले आश्रममा आश्रितहरूलाई आफैंले पस्केर खाना खुवाएका थिए। आश्रित एवं आश्रमका सेवकहरूले उपाध्याय दम्पतीलाई आशीर्वचन दिनुका साथै सफल दाम्पत्य जीवनको शुभकामना दिएका थिए।
अनावश्यक खर्च गरी वर्षगाँठ मनाउनुभन्दा असहाय, अशक्त, दीनदुःखीका साथ वर्षगाँठ मनाउनु सुखदायक रहेको उपाध्यायले बताए।
उनले वैवाहिक वर्षगाँठ, जन्मदिन जस्ता अन्य खुशियाली असहाय, अशक्त, दीनदुःखीलाई आश्रय दिएको मानव सेवा आश्रममा मनाउन अरूलाई आग्रह गर्दै अबदेखि जन्मदिन, वर्षगाँठ जस्ता खुशियाली मानव सेवा आश्रममैं मनाउने बताए।
कोरोना महामारीकालमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै उपाध्याय दम्पती मात्रै आश्रममा पुगेको र बाँकी आश्रमकै सदस्यहरू कार्यक्रममा सहभागी भएको सञ्चारकर्मी उर्मिला सापकोटाले बताइन्।
आश्रमका संयोजक सानु गुरुङले सहजीकरण गरेको कार्यक्रममा आश्रमका सहसंयोजक मुन्ना लिम्बु र सञ्चारकर्मी सापकोटाले सहयोग पु–याएका थिए। आश्रममा असहाय, अशक्त, अपाङ्गसहित विभिन्न उमेरका ४७ जना आश्रित छन्।