प्रस, ठोरी, २० जेठ/
ठोरी गाउँपालिका–५ सुवर्णपुरका हरेराम खड्काले सगरमाथा आरोहण गरेका छन्। खड्का मङ्गलवार बिहान १० बजे सगरमाथा आरोहण गर्न सफल भएका हुन्।
सन् २००५ देखि ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका खड्काले भारतीय र नेपाली गरी करीब ३० जनाको समूहसँग जून १ तारिखका दिन विश्वकै सर्वाेच्च शिखर आरोहण गर्न सफल भएको टेलिफोनमार्फत जानकारी दिए। खड्काले वीरगंज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा फहराएका थिए।
यस वर्ष प्रतिकूल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिविरबाट फर्किएका खड्काले जानकारी दिए। यद्यपि दुई दिन मौसम अनुकूल हुँदा आफूहरू चुचुरोमा पुग्न सफल भएको उनले बताए।
सगरमाथा आरोहणपश्चात् चुचुरोबाट नजीकै रहेको अन्तिम आधार शिविर आइपुगेका खड्काले सगरमाथा आरोहण गरेको वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठलाई फोनमार्फत जानकारी गराएका थिए।
यसअघि दुवै पालिकाले खड्कालाई सगरमाथा आरोहण गर्नका लागि
आर्थिक सहयोग गरेका थिए। खड्कालाई वीरगंज महानगरले रु २ लाख ५० हजार र ठोरीले रु २ लाख नगद सहयोग गरेका थिए। गत चैत २९ गतेदेखि सगरमाथा आरोहण आरम्भ गरेका खड्का ५० दिनभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।