प्रस, महोत्तरी, २० जेठ/
विभिन्न संस्थाले बर्दिबास अस्पताललाई रु २० लाखबराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवका अनुसार स्वास्थ्य सामग्री अस्पताल विकास समितिका अध्यक्ष तथा बर्दिबासका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरिएको बताए।
कोभिड–१९ को उपचार गर्दै आएको अस्पताललाई कारितास नेपाल र कारितास जर्मनीले रु १६ लाख ४७८ तथा आड्रा नेपाल र स्वीस सोलिडारिटीले रु दुई लाख १३ हजार ४९७ मूल्यबराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए। अक्सिजन कन्सेन्ट्रेटर मेशिन, नेबुलाइजर मेशिन, पल्स अक्सिमिटर, प्रोटेबल सक्सेन मेशिन, अक्सिजन सिलिन्डर, सेनिटाइजर, भिटिएम ट्युब, एन्टिजेन किट, एक्सट्रक्शन किट, पिपिई सेट, थर्मलगन, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क र एन–९५ मास्कलगायत सामग्री हस्तान्तरण गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ स्रोत व्यक्ति रामबाबू यादवले बताए।
यसैगरी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको समन्वयमा हेल्भेटास अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले यसै साता अस्पताललाई रु १२ लाख मूल्य बराबरका यस्तै स्वास्थ्य सामग्री प्रदान गरेका थिए। यसैगरी, बिहीवार कारितास नेपाल र कारितास जर्मनीले गौशाला नगरपालिका–१२ स्थित कोभिड–१९ आइसोलेशन सञ्चालन गरेको स्वास्थ्यचौकी इमलीबजारलाई रु पाँच लाख मूल्यबराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन्।
यस्तै, आड्रा नेपाल र स्वीस सोलिडारिटीले छिमेकको धनुषा जिल्लामा पर्ने बटेश्वर स्वास्थ्यचौकीलाई करीब रु ३७ हजार मूल्यबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।