प्रस, वीरगंज, १९ जेठ/

पर्सा जिल्लामा निषेधाज्ञा छैटौंपटक बढाएर जेठ ३० गतेसम्म लम्ब्याइएको छ।

बुधवार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र, पर्साको बैठकले निषेधाज्ञा अवधि अझै दश दिन बढाउन सिफारिश गरे अनुसार जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले निषेधाज्ञा अवधि बढाएका हुन्।

वैशाख १६ गते बिहान ४ बजेदेखि शुरू भएको निषेधाज्ञा पटक–पटक गरी लम्ब्याउँदै जेठ ३० गतेसम्म पु–याइएको छ। यसअघि, पाँचौंपटक निषेधाज्ञा बढाउँदै जेठ २० गते राति १२ बजेसम्म अवधि तोकिएको थियो।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले अस्पतालमा १५० जना सङ्क्रमित भर्ना भएको र जिल्लाभरि कुल १ हजार सक्रिय सङ्क्रमित रहेको कारण निषेधाज्ञा अवधि बढाइएको बताए। उनले अस्पतालहरूमा सङ्क्रमित सङ्ख्या ५० मा झरेपछि निषेधाज्ञा हटाउन सकिने बताए।

आज सम्पन्न बैठकले खाद्यान्न पसलहरू बिहान १० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। यसअघि बिहान ८ बजेसम्म मात्र सो पसलहरू सञ्चालन गर्न दिने निर्णय भएको थियो।

बैठकले दोस्रो लहरको कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको लागि शव व्यवस्थापनमा रु ३ लाख ७१ हजार, क्वारेन्टाइन/होल्डिङ सेन्टर व्यवस्थापनमा रु ७६ हजार, अनुगमन, कन्ट्याक्ट टे«सिङ, सवारीसाधन इन्धनमा रु २ लाख ८ हजार जेठ १९ गतेसम्म भएको खर्च अनुमोदन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here