प्रस, वीरगंज, १९ जेठ/
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती भएको बताएका छन्।
विज्ञप्तिमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीतिले तराईमा ठूलो प्राकृतिक सङ्कट निम्त्याउने पनि बताए। उनले ढुङ्गा, गिट्टीका लागि हुने उत्खननले पर्यावरणमा नकारात्मक असर पार्ने र यसको मूल्य तराईवासीले तिर्नुपर्ने बताए। केही व्यवसायीलाई फाइदा भएपनि यो आम नागरिकको हितविपरीत भएको उनले विज्ञप्तिमा ठहर उल्लेख गरेका छन्।
यादवले विज्ञप्तिमा भनेका छन्, “नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई–मधेसमा ठूलो प्राकृतिक सङ्कट निम्त्याउनेछ।”