प्रस, सिराहा, १९ जेठ/

सिराहा जिल्लाको लहान नगरपालिकाको उत्तरी क्षेत्रको दलितबस्तीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएपछि बिरामी परीक्षण नगराइ गाउँँमैं बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढ्दो छ।

सो क्षेत्रमा दुई सातादेखि ज्वरो र रुघाखोकीको प्रकोप फैलिएको छ।  स्वास्थ्य चौकीमा जचाउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमैं बसिरहेको स्थानीयहरूले बताएका छन्।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले परीक्षण गरेर नतीजा नआउँदासम्म अलग रहन पटक–पटक स्वास्थ्यकर्मीले आग्रह गर्दै आए पनि बिरामी जचाउन स्वास्थ्य चौकीसम्म नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए।

सिराहा अस्पतालमा कोभिड–१९ को निश्शुल्क पिसिआर परीक्षण हुँदै आए पनि ग्रामीण भेगका सर्वसाधारण लक्षण देखिए पनि परीक्षण गराउन आनाकानी गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको प्रमुख यादवको भनाइ छ।

कोभिड–१९ को दोस्रो लहर शुरू भएयता सिराहामा हालसम्म एन्टिजेन विधिबाट २७२ र पिसिआर विधिबाट २ हजार ९९७ जनाको मात्र परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये नेगेटिभ रिपोर्ट आएकाबाहेक सिराहामा ८६९ जना सक्रिय सङ्क्रमित छन्। कोभिड–१९ को सङ्क्रमणबाट जिल्लाभर ३८ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको छ।

पहिलो चरणमा सिराहामा २५ जनाको मृत्यु भएको थियो। हाल सिराहामा दैनिक ६० जना औसतमा सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाएको छ।

यसबाहेक जोखिम बढ्दा पनि भोज र मृत्यु संस्कारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन नगर्ने, जबरजस्ती हाटबजार लगाउन खोज्ने, कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षण गराउन नचाहने प्रवृत्तिले जोखिम झनै बढाउन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरेर सिराहाका १७ मध्ये १० वटा स्थानीय तहले आफ्नै कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याए पनि अधिकांश सङ्क्रमित होम आइसोलेशनमैं बसिरहेका छन्।

लहान, गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा, कल्याणपुर नगरपालिका र सखुवाननकारकट्टी, औरही, बरियारपट्टी र लक्ष्मीपुर पतारी गाउँँपालिकाले आआफ्नै कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको जनाएका छन्। जिल्लामा सरकारी र निजी गरी १५ वटा अस्पतालले कोभिड–१९ सङ्क्रमितलाई उपचार सेवा दिंदै आएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। जिल्ला प्रशासन सिराहाको पुरानो भवनलाई कारागारका कैदीबन्दीहरू सङ्क्रमित भए उपचारको लागि आइसोलेशन बनाइएको छ।

कोरोनाको दोस्रो लहरपछि जिल्ला प्रशासन कार्यालय सिराहाको पहलमा जिल्ला अस्पताल सिराहामा ५ शय्याको आइसियू, दुई भेन्टिलेटरसहित २६ शय्याको आइसोलेशन बनाइएको छ। सिराहा अस्पतालमा प्रदेश २ सरकारले थप दुर्ईवटा भेन्टिलेटर र अक्सिजन प्लान्टसमेत जडान गरी सञ्चालनमा ल्याएको छ।

अस्पतालमा दक्ष जनशक्ति नहँुदा तालीम दिएर भेन्टिलेटर चलाउनुपर्ने बाध्यात्मक स्थिति रहेको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले बताए।

सिराहा अस्पतालको अक्सिजन प्लान्टबाट रिफिल गर्ने उपकरण खरीदको लागि जिल्ला प्रशासन कार्यालयको बजेटबाट टेन्डर आह्वान गरी खरीद प्रक्रियालाई अगाडि बढाइसकेको प्रजिअ कँडेलले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here