प्रस, पोखरिया, १८ जेठ/

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा विनियोजित भएको बजेटमध्ये आधा फ्रिज हुने सङ्केत देखिएको छ।

पोखरिया नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रु २ करोड २५ लाख बजेट आएको थियो। जस अन्तर्गत एक सय दिनसम्म ४३९ जना बेरोजगार युवालाई विभिन्न कार्यमा खटाउनुपर्ने थियो तर पोखरिया नगरपालिकाले जेठ १ गतेदेखि वडाहरूमा यो कार्यक्रम अन्तर्गत युवाहरू परिचालन गरेको कारण चालू आवमा सय दिन काम गर्न सक्ने वातावरण नभएकोले आधा रकम फ्रिज हुने सङ्केत देखिएको हो।

पोखरिया नपामा जेठ १५ गतेसम्म यो कार्यक्रमको शुभारम्भ भएको थियो। जेठ १ देखि १५ गतेसम्म १० वटा वडामा आलोपालो कार्यक्रम शुरू भएकाले असार २५ गतेसम्म सय दिने अभियान पूरा हुन नसक्ने देखिएको हो। चालू आवमा पोखरिया नपाले यो कार्यक्रम सय दिनसम्म सञ्चालन गर्नुपर्ने थियो। विकास निर्माणका विभिन्न कार्यमा बेरोजगार युवाहरूलाई सय दिनसम्म रोजगार दिएर कार्यक्रमलाई सार्थकता दिनेतर्फ नगरपालिका उदासीन रहेको कारण बजेट फ्रिज हुन लागेको हो।

वडा, नगरस्तरमा भएका विकास निर्माण, वृक्षरोपण, नाला, बाटो, नहर सरसफाइलगायतका कार्यमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत युवाहरू परिचालन गर्न सकिन्थ्यो। तर त्यसो नभएकोले रु २ करोड २५ लाखमध्ये आधा रकम फ्रिज हुने देखिएको हो।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पोखरिया नपाका कार्यक्रम संयोजक विजय साहले पचास दिनभन्दा बढी काम गराउन नसकिने बताए। उनले जेठ १ गतेदेखि शुरू भएको कार्यक्रम कतिपय वडामा जेठ १५ गतेसम्म शुरू भएकाले असोज २५ गतेसम्म सय दिन नपुग्ने हुनाले बजेट फ्रिज हुने सङ्केत देखिएको बताए। चालू आवको मसान्त लाग्ने बेलामा रोजगार कार्यक्रम शुरू भएकोले सय दिन पूरा हुन नसक्ने उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here