सञ्जीव मिश्र, विन्दवासिनी, १८ जेठ/ विन्दवासिनी गाउँपालिकाको वडा नं १ गर्दौलमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। स्थानीय नागरिक अगुवा गौरीशङ्कर साहले आफ्नो हकभोगमा रहेको एक कट्ठा ऐलानी जग्गा अस्पताललाई हक हस्तान्तरण गरेपछि सोही जग्गामा भवन शिलान्यास गरिएको हो।
केन्द्रीय सरकारको ३९ लाख रुपैयाँ अनुदान सहयोगमा स्वास्थ्य चौकी निर्माण हुन लागेको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदीले बताए। उपभोक्ता समितिमार्फत जनश्रमदानसमेत गरेर निर्माण गरिने भवन दुई महीनाभित्र सम्पन्न हुने सो वडाका अध्यक्ष महम्मद सागिर मियाँले जानकारी गराए। उपभोक्ता समितिका अध्यक्ष उमेशप्रसाद साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नागरिक अगुवा अच्छेलाल मेहतालगायतको सहभागिता थियो।