प्रस, परवानीपुर, १८ जेठ/
परवानीपुर प्रहरी चौकीमा खट्ने ट्राफिक प्रहरीमा सुधार आएको छैन। वीरगंज भन्सार कार्यालय, आइसिपी र सुक्खा बन्दरगाहबाट वीरगंजका विभिन्न उद्योगका लागि जाने कच्चा पदार्थलगायतका सामग्री ढुवानी गर्ने सवारीसाधनहरूसँग परवानीपुरमा कार्यरत ट्राफिक प्रहरीले अवैध असुली गरिरहेका छन्।
प्रतिसवारीसाधन रु ५ सय अनधिकृतरूपमा माग गर्ने र रकम नदिने सवारीसाधनलाई विभिन्न आरोप लगाएर जरिवाना गर्ने गरेको सवारीचालक र उद्योग सञ्चालकहरूले गुनासो गरेका छन्।
परवानीपुर ट्राफिक प्रहरीमा कार्यरत श्यामबलि महतोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले यसै प्रकारको अनधिकृत गतिविधि गरेपछि तानेको थियो तर अहिले गएका प्रनानि कमल नेपालीले पनि सोही प्रवृत्तिलाई दोहो–याउन शुरू गरेका छन्। ट्राफिक प्रहरी जवान रवि चौरसियाले उद्योगहरूको कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनसँग महीनावारी तथा दैनिक रकम माग गर्ने र सोविपरीत जाने सवारीसाधनको कागजपत्र खोसेर दण्ड जरिवाना गरी दुःख दिने गरेका छन्।
यससम्बन्धी थुप्रै गुनासा अहिले आउन थालेका छन्। केहीले अनधिकृत जरिवाना गरेको प्रमाणसमेत देखाएका छन्।