प्रस, वीरगंज, १७ जेठ/
पर्सा जिल्लामा निषेधाज्ञा अवधि लम्बिएसँगै वीरगंज महानगरमा विभिन्न सङ्घसंस्थाले बिहान र बेलुका निश्शुल्क खाना र दिउँसो खाजाको व्यवस्थापनमा सक्रियता बढाएका छन्।
वीरगंज महानगरमा अहिले समर्पण सेवा/साहिब दरबार सेवा संस्थान, रेलवे कटेज, हन्डे«ड गु्रप, नेपाली काङ्ग्रेस पर्सा क्ष्Fेत्र नं १ लगायतका संस्थाहरूले बिहान र बेलुका निश्शुल्क भोजन र दिउँसो खाजाको व्यवस्थापन गर्दै आएका छन्। निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने, अस्पतालका कुरुवा र सडक फूटपाथमा जीवन बिताउने गरीब, दीनदुःखीहरूलाई लक्षित गरेर निश्शुल्क भोजन गराइएको हो।
समर्पण सेवा र साहिब दरबार सेवा संस्थानले निषेधाज्ञा शुरू भएको केही दिनपछि बिहान र बेलुका निश्शुल्क भोजन गराउँदै आएका छन्। साहिब दरबारका अध्यक्ष राजेशमान सिंहले बिहानी खानाको २६औं दिन र रात्रि खानाको २४औं दिन पूरा भएको बताए। उनले दैनिक करीब साढे ३ सयजनालाई बिहान र बेलुका खाना खुवाइरहेको बताएका छन्। आफ्नो संस्थानले साप्ताहिकरूपमा शनिवार महानगरमा रहेका भुस्याहा कुकुरहरूलाई पनि भोजन गराउँदै आएको उनले बताए।
यसैगरी, रेलवे कटेजले पनि २६ दिनदेखि निश्शुल्क भोजन गराउँदै आएको छ। फिड फर निडी संस्थाका संरक्षक ओमप्रकाश सर्राफले दैनिक निश्शुल्क भोजन गराउनुका साथै नारायणी अस्पतालमा सङ्क्रमितहरूलाई फलफूलसमेत उपलब्ध गराउँदै आएको बताए। उनले एक साताअघिदेखि अस्पतालमा भर्ना भएका सङ्क्रमितहरूलाई फलफूल वितरण गर्दै आएको बताए। संरक्षक सर्राफले शुरूमा एक साता निजी खर्चमा निश्शुल्क भोजन शुभारम्भ गरेको र पछि महानगरलगायत सहयोगी हातहरूले सहयोग गर्दै आएको बताए।
यसैगरी, वीरगंजमा रहेको हन्डे«ड गु्रप संस्थाले २१ दिनदेखि रातिको भोजन गराउँदै आएको छ। संस्थाका अध्यक्ष विजय गिरीको नेतृत्वमा राति सडक फूटपाथमा जीवन बिताउने र निषेधाज्ञामा भोजनबाट वञ्चित भएकाहरूलाई खाना खुवाउँदै आएको कोषाध्यक्ष आशिष गुप्ताले बताए। अहिले दैनिक सवा २ सय मानिसलाई रातिको भोजन गराउँदै आएको कोषाध्यक्ष गुप्ताले बताए। यो संस्थाले महानगरमा सुरक्षा दिंदै आएका प्रहरीलाई दिउँसो चाउचाउ, बिस्कुट, पानी उपलब्ध गराउँदै आएको छ।
यसैगरी, वीरगंज–४ बिर्तामा नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ ले ९ दिनदेखि रात्रि भोजन गराउँदै आएको क्षेत्रीय अध्यक्ष विजय सर्राफले बताए। नियमितरूपमा साँझ ६ बजे चिकेन बिरयानी खुवाउने गरेको र अहिले खानेहरूको सङ्ख्या बढिरहेको उनले बताए।
यसैगरी, वीरगंज सिटी रोयल युवा क्लबले पनि निश्शुल्क भोजन गराउँदै आएको अध्यक्ष सुरज महतोले बताए। क्लबका पदाधिकारी सदस्यहरूको आर्थिक सहयोगमा खाना खुवाउन शुरू गरिएको क्लबका वाल्मीकि मण्डलले बताए।
यी क्लबहरूले शङ्कराचार्य गेटदेखि पावरहाउसम्म र बसपार्क तथा अस्पताल क्षेत्रमा निश्शुल्क भोजन वितरण गर्दै आएका छन्।
महानगरमा निश्शुल्क भोजन गराउनेलाई नगरप्रमुख विजयकुमार सरावगीले महानगरको तर्फबाट एकपटक खाद्यान्न सहयोग गरेका थिए। त्यसबाहेक अहिलेसम्म महानगरपालिका र वडापालिकाहरूले निषेधाज्ञामा भोजन गराउने, राहत वितरण गर्ने जस्ता कार्य गरेका छैनन्। पहिलो लकडाउनमा केन्द्र, प्रदेश र स्थानीय सरकार तथा वडापालिकाहरूले राहत वितरण गर्दै आएका थिए। अहिले वीरगंज महानगरमा विभिन्न संस्थाले भोजन गराउँदै आए पनि पर्साका ग्रामीण क्ष्Fेत्रमा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्नेहरू ठूलो समस्या भोग्दै छन्। कतिपय परिवार भोकै सुत्ने गरेको समाचार पनि प्रकाशमा आएको छ तर पनि स्थानीय पालिकाले त्यस्ता परिवारलाई खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका छैनन्।