बलिराम शुक्ला, बिरुवागुठी, १७ जेठ/
पर्साका किसानले लगाएको चैते धानमा अहिले कीराको प्रकोप देखा परेको छ। किसानले लगाएको चैते धान १४४२ र हर्दिनाथ धानमा कीराको प्रकोप देखा परेको हो।
धानमा सेतो फड्के, खैरो फड्के, हरियो फड्के कीराले व्यापक क्षति पु–याएको कारण धान पहेंलो हुने गरेको पर्सागढी नगरपालिकाका किसान दिपायन चौधरीले बताए।
पर्सागढी नपाको कृषि शाखाका प्राविधिकहरू नगरपालिकामा नबस्दा सही सल्लाह सुझाव किसानले नपाएको र किसानले प्रयोग गरेका विषादीले पनि काम नगरेको बताइएको छ। किसानहरूलाई यस्तो समस्या पर्दा भने पर्सागढी नपाको कृषि शाखाका प्रमुख खड्कबहादुर खत्री सम्पर्कविहीन छन्।
पटेर्वासुगौली गाउँपालिकाको कृषि शाखाका प्राविधिक मोहन चौधरीका अनुसार चैते धानमा कीरा देखा परेपछि धान खेतमा जमेको पानी व्यवस्थापन गरी खेत सुकाउनुपर्ने बताउँदै कीरा लागेको बालीमा एसिफेन १७ प्रतिशत, बुप्रोफागिन २५ प्रतिशत, फिप्रोनिल ८० प्रतिशत र गिमथेट ३० प्रतिशतमध्ये कुनै एउटा विषादी पानीमा मिसाएर छर्किन सुझाव दिए।
पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौली गापाका किसानले लगाएको चैते धानमा कीराको प्रकोप देखिएको प्राविधिक चौधरीले बताए।