कोरोना खोप लगाउन धेरैजना अझै पनि डराउँदैछन्। भारतको उत्तरप्रदेशमा हालै एउटा गाउँमा खोप लगाउन पुगेका स्वास्थ्यकर्मीहरूको टीम देखेपछि त्यहाँका गाउँलेहरू नदीमा हाम फालेका थिए। तर संसारमा एउटा यस्तो ठाउँ पनि छ, जहाँ खोप लगाउनेलाई चिट्ठामा पुरस्कार जितेको स्वरूप लाखौं डलर दिइनेछ। अमेरिकाको ओहायोमा खोपबारे जागरूक गर्न लट्री सिस्टमको माध्यमबाट पुरस्कार दिने घोषणा गरिएको छ। यो योजना ओहायोका गभर्नर माइक डेविनले ल्याएका हुन्। ओहायोमा जसले यो खोप लगाउँछ, उसले चिट्ठा प्रक्रियामा भाग लिन पाउँछ। द गार्जियनको एउटा रिपोर्ट अनुसार चिट्ठा जित्नेलाई १० लाख डलर पुरस्कार दिइनेछ। माइक डेविनले भने– करीब २७ लाख मानिसले पहिलो साता नै चिट्ठाको लागि आवेदन दिएका छन्।
चिट्ठा प्रक्रियामा सहभागी हुन दुईवटा समूह बनाइएको छ। पहिलो समूहमा ओहायोका मूल निवासी र १८ वर्षभन्दा बढी उमेरका वयस्क हुनेछन्, जबकि दोस्रो समूहमा १२ देखि १७ वर्षका किशोरहरू छन्। दोस्रो समूहका विजेतालाई नगद पुरस्कार दिइएको छैन। यसमा १२ देखि १७ वर्षका किशोरहरूलाई चार वर्षसम्मको छात्रवृत्ति दिइनेछ। यी सबै चिट्ठा योजनाको पैसा र खर्च ओहायो प्रशासनको कोभिड फन्डबाट हुनेछ।
चिट्ठाको यो योजना अहिले अमेरिकामा चर्चाको विषय बनेको छ। न्यूयोर्क टाइम्सले एउटा लेखमा यसलाई खोप लगाउन आकर्षित गर्ने विचार बताएको थियो। अमेरिकाले मास्कबाट मुक्तिको घोषणा गरिसकेको छ। अमेरिकाले यस्तो घोषणा गर्नुको कारण त्यहाँका ६० प्रतिशत जनसङ्ख्याले कमसेकम खोपको एउटा मात्रा लिइसकेको छ। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)