भारत, उत्तरप्रदेशको इटावामा कोरोना सङ्क्रमण रोक्न र खोपप्रति जागरूकता ल्याउन त्यहाँका एसडिएमले अनौठो पहल गरेका छन्। उनले रक्सी ठेकेदारलाई कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्र हेरेर मात्र रक्सी बिक्री गर्न भनेका छन्। जसले गर्दा यसको असर त्यहाँ देखिन थालेको छ।

उपजिलाधिकारी (एसडिएम) हेम सिंहका अनुसार शनिवार रक्सी ठेकेदार (विक्रेता)लाई खोप लगाएको प्रमाणपत्रविना रक्सी बिक्री नगर्न अपील गरिएको थियो। एसडिएमको अपीलपछि अब रक्सी किन्न आउनेहरूले खोप लगाएको प्रमाणपत्र ल्याइरहेका छन्। सिंहको सैफई तहसीलमा कोरोना खोपलाई बढावा दिन यस अनौठो प्रयोगको खुलेर प्रशंसा भइरहेको छ। उनले रक्सी र बीयरको ठेक्का सञ्चालकहरूसँग अपील गरेका छन्, कोरोना खोप लगाइसकेकालाई मात्र रक्सी बेच्न पाइन्छ। यसको लागि उनले समय–समयमा पसलको अनुगमन पनि गर्ने गरेका छन्।

अलिगढमा विषाक्त रक्सीबाट भएको मृत्युपछि एसडिएम हेम सिंह र सिओ राकेश वरिष्ठ र आबकारी विभागका टीमसँगै रक्सी र बीयरको पसल निरीक्षण गर्न निस्केका थिए। दुमिला, तिराहे र गीजा गाउँमा रक्सीका पसल जाँच गरेपछि एसडिएमले रक्सीपसलेहरूलाई खोपप्रति जागरूक गर्ने पोस्टर लगाउन पनि निर्देशन दिए। एसडिएमले ठेक्का सञ्चालक र सेल्समैनसँग भने– ४५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई रक्सी, बीयर त्यति बेला मात्र बेच्न पाइन्छ, जब उनीहरूले कोरोना खोप लगाइसकेको प्रमाणपत्र देखाउँछन्, नत्र रक्सी नबेच्नुहोला। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here