प्रस, सेढवा, १५ जेठ/
विगत चार दिनदेखि परेको बेमौसमी वर्षा र हावाहुरीका कारण पर्साको ग्रामीण जनजीवन प्रभावित भएको छ । गत बुधवारदेखि तीव्र गतिमा चलेको हावाका साथै वर्षाका कारण ग्रामीण भेग प्रभावित भएको हो ।
यो अवधिमा किसानले सिंचाइका लागि कुलो पैनी निर्माण गर्न सकेका छैनन् । त्यस्तै, किसानले खेतको आलीको सरसफाइ गरी पुनः नयाँ आली बाँध्ने काम पनि गर्न सकेका छैनन् । खेत सुक्खा गरी खनजोत गर्ने समयमा परेको बेमौसमी वर्षाका कारण अहिले खेतहरू जलमग्न भएका छन् ।
त्यस्तै, पानीले ग्रामीण सडकहरू हिलाम्य भएका छन् र आवागमन प्रभावित भएको छ । वीरगंज-ठोरी, जनता सडक, थरुहट सडकखण्डमा कतै पानी जमेको छ भने कतै खाल्डाखुल्डी परेको छ । कच्ची सडकहरू हिलाम्य भएर आवातजावत प्रभावित भएको छ । निषेधाज्ञाको कारण छिटपुट सवारीसाधनहरू सञ्चालन भएकाले त्यत्ति असर परेको छैन । तर यसबाहेक सो सडकखण्डबाट आवतजावत गर्नेहरू भने पानीले सडक बिग्रिएकाले समस्या भएको बताउँछन् ।
जगरनाथपुर गाउँपालिका-२ का अजय दासले हिलो भएको सडकबाट आवतजावत गर्न समस्या भएको बताए । लगातारको वर्षाले यस क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारद्वारा सञ्चालित योजनाका कामहरू पनि प्रभावित भएका छन् । विद्यालय भवन, सामुदायिक भवन, सडक, नालाका कामहरू प्रभावित भएको बताइएको छ ।
वर्षाका कारण ठाउँ-ठाउँमा विद्युतीय पोलहरू ढलेर विद्युत् आपूर्ति ठप्प भएको छ । यसैगरी, इन्टरनेट सेवा पनि प्रभावित बन्न पुगेको छ । इन्टरनेट र विद्युत् अवरुद्ध भएकाले अनलाइन कक्षा लिने विद्यार्थीहरू पनि कक्षा लिनबाट वञ्चित भएका छन् ।