प्रस, ठोरी, १५ जेठ/
गत बुधवारदेखि परेको अविरल वर्षाका कारण पर्साको ठोरी गापा-४ मा खानेपानीको समस्या भएको छ । वर्षाका कारण खानेपानीको मुहान भत्किएपछि ठोरी गापा-४ निर्मलबस्तीका बासिन्दालाई खानेपानीको समस्या परेको हो । धारामा पानी नआएपछि स्थानीयलाई पिउन र गाईवस्तुलाई पानी खुवाउन समस्या परेको छ ।

स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा रहेको पानीको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानी खानेपानीको रूपमा उपभोग गर्दै आइरहेका छन् । वडा नं ४ मा रहेको नेपाली सेनाको निर्मलबस्ती पोस्टबाट करीब ५ किलोमिटर उत्तरतर्फ पर्सा राष्ट्रिय निकुञ्जभित्र खानेपानीको मुहान रहेको किनाराको भाग बर्सेनि वर्षा शुरू भएसँगै पानीले भत्काउने गरेको छ ।

यस वर्ष सोही समस्याका कारण ठोरी गापाले मुहान मर्मत गर्न र पक्की पर्खाल लगाउन रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । गत वैशाखमा करीब २ साता खानेपानी बन्द गरेर मरम्मतको काम सम्पन्न गरेको भएपनि मुहानसम्म आउने पानीको कुलो नै अत्यधिक वर्षाले भत्काएको निर्मलबस्ती खानीपानी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर पाख्रिनले बताए ।

अघिल्लो साता परेको झरीमा पनि सोही कुलो भत्किएको थियो । करीब २५ जनाले मर्मत गरेर पानी सञ्चालनमा ल्याएको भएपनि पुनः भत्किएको छ । निरन्तर पानी बगिरहने ठाउँ भएकोले जन श्रमदानबाट मात्र कुलो मरम्मत गर्न नसकिने अवस्था रहेको अध्यक्ष पाख्रिन बताउँछन् । खानेपानी मर्मत गर्न ठोरी गापाले जेसिबी प्रयोगको अनुमति दिएको भएपनि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गर्नुपर्ने भएकोले झन्झटिलो भएको उपभोक्ता समितिको भनाइ छ ।

निकुञ्जको कोर क्षेत्र भएकोले मानिस वा सवारीसाधन मुहानमा प्रवेश गर्न सबैको लागि निकुञ्जको अनिवार्य अनुमति चाहिन्छ । खानेपानीको मुहानमा कुनै समस्या आउने बित्तिकै स्थानीयले निकुञ्जको अनुमति लिएर मात्र प्रवेश पाउने गरेका छन् ।

सीमसार क्षेत्र रहेको उक्त पानीको मुहानमा हात्तीले पानीको पाइप भत्काइदिने गरेको छ । निकुञ्ज क्षेत्रभित्र सदाबहार रहिरहने पानीलाई कुलो बनाएर मुहानमा जम्मा गरिएको छ । त्यहाँबाट पाइपलाइनमार्फत नेपाली सेनाको निर्मलबस्ती पोस्टमा रहेको पानीटङ्कीमा जम्मा हुने पानी सोही टङ्कीबाट आएको पाइपमार्फत वडामा वितरण गर्ने गरिएको छ । स्थानीयले तीन दशकअघिदेखि प्रयोग गर्दै आइरहेको खानेपानीको संरचना पुरानो भएकोले पनि नियमितजसो खानेपानी अवरुद्ध हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here