प्रस, वीरगंज, १४ जेठ/
नारायणी अस्पतालमा कोरोना सङ्क्रमितहरूको मात्र डायलोसिस व्यवस्था गर्न चिकित्सकहरूले सुझाएका छन् ।
सरकारले डायलोसिसका लागि वीरगंजको नेशनल मेडिकल कलेज र वीरगंज हेल्थकेयर अस्पतालसमेतलाई जिम्मेवारी दिएको छ । नारायणी अस्पतालमा भने सङ्क्रमितसमेतको डायलोसिसको व्यवस्था गरिएको छ । सङ्क्रमितहरूको डायलोसिस गर्नका लागि दुईवटा मेशिन छन् तर त्यसमध्ये एउटा बिग्रिएको छ ।
एउटा मात्र डायलोसिस मेशिनको कारण सङ्क्रमितहरूमध्ये एकजनालाई कम्तीमा चार घण्टा समय डायलोसिस गर्न दिनुपर्नेमा अहिले दुई घण्टा मात्र दिने गरिएको छ । पछिल्लो चरणमा रौतहट गुजरा नगरपालिकाकी १७ वर्षीया सविना विकको नारायणीसमेतमा डायलोसिस नगरिएपछि मृत्यु भएको थियो ।
यसैगरी, सङ्क्रमित जीतपुरसिमरा निवासी विनोद मिश्रको पनि मृत्यु भयो । सरकारले डायलोसिसका लागि ननकोभिड अस्पताललाई प्रतिव्यक्ति रु २५ सय र कोभिड अस्पताललाई रु १२ हजार ५ सय अनुदान सहयोग निर्धारण गरेको छ ।
यो अवस्थामा नारायणी अस्पतालले कोभिड भएका बिरामीहरूलाई मात्र डायलोसिस सेवा दिने हो भने नेशनल र वीरगंज हेल्थकेयरले ननकोभिड मिर्गौलारोग पीडितको डायलोसिस गर्न सक्ने थियो । यसो गर्दा सबैजनाले सहज सेवा पाउने वातावरण हुने एकजना चिकित्सकले सुझाएका छन् ।