प्रस, वीरगंज, १४ जेठ/
नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालाले शुक्रवार बिहान ४२ जना सङ्क्रमित पुष्टि गरेको छ भने हिजो राति र आज बिहानसम्म वीरगंजका अस्पतालमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बिहीवार १७७ जनाको स्वाब सङ्कलन भएकोमा पिसिआर परीक्षण रिपोर्टमा ४२ जना सङ्क्रमित पुष्टि भएको बताए । सङ्क्रमित पुष्टि भएकामा पर्साका २५ जना, बाराका ११ जना, रौतहट र सर्लाहीका तीन/तीन जना छन् । उनीहरूमा १५ जना महिला र २७ जना पुरुष छन् । सङ्क्रमितहरूको उमेर ११ देखि ८६ वर्षसम्म रहेको तथा सिटी भ्यालू १७.५ देखि ३५.३ सम्म रहेको संयोजक डा दासले जानकारी गराए ।

यसैगरी, हिजो राति र आज बिहान गरी नारायणी अस्पतालमा दुईजना सङ्क्रमितको मृत्यु भएको उनले बताए । बिहीवार राति १० बजे बहुदरमाई नगरपालिका-५ निवासी ३५ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । सङ्क्रमण पुष्टि भएपछि ती पुरुषलाई जेठ ९ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी, नारायणी अस्पतालमा जेठ १४ गते शुक्रवार बिहान साढे तीन बजे बारा जिल्ला सुवणर् गाउँपालिका-६ निवासी ७० वर्षीया महिलाको मृत्यु भएको छ । सङ्क्रमित भएपछि उनलाई जेठ १३ गते भर्ना गरिएको थियो ।

यसैगरी, हिजो राति ९ बजे वीरगंज हेल्थकेयर अस्पतालमा वीरगंज महानगर-२९ निवासी ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए । सङ्क्रमित जेठ ६ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here