प्रस, परवानीपुर, १३ जेठ/
चर्चित अभिनेत्री मनीषा कोइरालाले वीरगंजस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। उनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्रकिशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा. उदयनारायण सिंहलाई प्रदान गरेको थियो। त्यसैगरी अन्य स्वास्थ्य सामग्रीमा १००–१०० थान फेससिल्ड र पिपिई तथा ३ थान फूल फेस मास्क प्रदान गरिएको थियो। कोरोना महामारीको दोस्रो लहरमा वीरगंज तथा मध्यतराईका जिल्लाहरू बढी प्रभावित भएको भन्दै र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग पठाएकी हुन्। अस्पताल विकास समितिका अध्यक्ष लाभले नारायणी अस्पतालको अभाव थाहा पाएर सहयोग गर्नेप्रति कृतज्ञता व्यक्त गरेका थिए। उनले यी सामाग्रीले कोरोना सङ्क्रमितको ज्यान बचाउन मदत मिल्ने आग्रह गरे। त्यसैगरी पत्रकार चन्द्रकिशोरले जनताको सरकारी अस्पताल भएकोले सेवा अझै प्रभावकारी हुनुपर्नेमा अस्पताल व्यवस्थापन पक्ष तथा चिकित्सकको ध्यानाकर्षण गराएका थिए।