प्रस, वीरगंज, १२ जेठ/
वैशाख १६ गतेदेखि पर्सा जिल्लामा लाग्दै आएको निषेधाज्ञालाई निरन्तरता दिंदै जेठ २० गतेसम्म पुनः एक साताको लागि लम्ब्याइएको छ।
कोभिड सङ्कट व्यवस्थापन केन्द्र, पर्साको बुधवार सम्पन्न बैठकले निषेधाज्ञा अवधि एक साता लम्ब्याउन गरेको सिफारिश अनुसार प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याइएको बताएका छन्।
यो अवधिमा अत्यावश्यक काम, औषधि उपचारबाहेक घरबाट बाहिर ननिस्किन, हिंड्डुल नगर्न जिल्ला प्रशासन कार्यालय, पर्साले अनुरोध गरेको छ। आदेशको बर्खिलाप गर्नेलाई प्रचलित कानून अनुसार सजाय, जरिवाना गरिने सो कार्यालयले जानकारी गराएको छ। मालवाहक सवारीसाधन, सुरक्षा, स्वास्थ्य सेवासम्बन्धी कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, शववाहन, फोहरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषिउपज, तरकारी, दुग्धजन्य पदार्थ, पशुपक्षीको दाना ढुवानी गर्ने सवारीसाधन, आइसोलेशन, होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक काममा प्रयोग हुने सवारीसाधनबाहेक सबै प्रकारका सवारीसाधन प्रयोग गर्न निषेध गरिएको छ।
मृत्यु, अन्तिम संस्कार, विवाह कार्यक्रममा दुईवटा सवारीसाधन ब्यानरको प्रयोग गरी सञ्चालन गर्न दिइएको। विकास निर्माण आयोजनासँग सम्बन्धित कर्मचारी, जनशक्तिले अनुमतिप्राप्त सवारीसाधन मात्र प्रयोग गर्न पाउने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खाद्यवस्तु बिक्री गर्ने पसल बिहान ८ बजेसम्म सञ्चालन गर्न पाइने र तरकारी, फलफूल, पानी, दुग्धजन्य पदार्थलगायत खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको छ।
विवाह, व्रतबन्ध, न्वारन जस्ता कार्यमा १० जनासम्मको सहभागितामा घरमैं तर होटल, पार्टी प्यालेसमा गर्न निषेध गरिएको छ। अत्यावश्यकबाहेक सबैखाले निजी सेवा प्रवाह स्थगन गरिएको बताइएको छ। उद्योगमा कार्यरत श्रमिकहरूलाई आवासीय प्रबन्धसहित उद्योग सञ्चालन गर्न पाइने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचयपत्रका साथ आवतजावत गर्न सक्ने र सकभर एटिएमलगायत विद्युतीय कारोबारलाई जोड दिनुपर्ने आदेश छ।
वीरगंज नाकाबाहेक अन्य सबै नाकाबाट आवागमनमा रोक लगाइएको छ। वीरगंज नाकाबाट प्रवेश गर्नेहरूले स्वास्थ्य जाँच र स्थानीय तहले तोकेको आइसोलेशन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नुपर्ने निषेधाज्ञामा आदेश जारी गरिएको छ।
यो बिरगंज लाई मात्र होकि जिल्ला भर हो पर्सागढी मा त लागू भएको छैन बुझ्न नसकेको कुरा?