प्रस, वीरगंज, १२ जेठ/

वीरगंज महानगर–५ वडा समितिको कार्यालयले बुधवारदेखि आफ्नो वडामा निश्शुल्क स्वास्थ्य सेवा शुरू गरेको छ।

नगरप्रमुख विजयकुमार सरावगीले सो सेवाको आज उद्घाटन गरेका हुन्। उनले वडासमितिले आफ्नै वडावासीको सहयोगमा यसअघि कोरोना सङ्क्रमणमा खाद्यान्न राहत वितरण गरेको र अहिले स्वास्थ्य सेवा सुचारु गरेकोमा प्रशंसा गरे।

उद्घाटन समारोह वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, डा नीरज सिंह, रोशन अली, वीरगंज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए।

वडाध्यक्ष चौरसियाले वडामा रहेका सङ्क्रमितबाहेकलाई पनि निश्शुल्क स्वFस्थ्य सेवा र औषधि, अक्सिजन उपलब्ध गराउने नीति रहेको बताए। उनले वडावासीको सहयोगमा अक्सिजन र औषधिसमेतको व्यवस्था गरिएको जानकारी गराएका छन्। चारजना चिकित्सक र चारजना स्वास्थ्यकर्मीले यस कार्यमा सहयोग गर्ने उनले जानकारी गराए। स्वास्थ्यकर्मीहरूले वडामा देखिएका बिरामीहरूको पहिचान गर्ने र उनीहरूलाई आवश्यक परामर्श दिने र उनीहरूको काबूभन्दा बाहिर भएको घटनामा चिकित्सकीय सेवा उपलब्ध गराउने अभियान शुरू गरिएको बताए।

वडा नं. ५ मा दोस्रो कोरोनाकालमा अहिलेसम्म ६५ जनाभन्दा बढी सङ्क्रमित भएका र उनीहरूको अवस्था सामान्य भइसकेको वडाध्यक्ष चौरसियाले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here