प्रस, सिराहा, १२ जेठर

सिराहाको लहान नगरपालिकास्थित दलित बस्तीमा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। नगरको उत्तरी क्षेत्रमा अवस्थित दलित बस्तीमा पछिल्लो दुर्ई सातादेखि प्रकोप देखिएको हो। ज्वरो र रुघाखोकीका बिरामीहरू स्वास्थ्य संस्थामा नगई घरैमा बसेका छन्। स्वस्थ्य संस्थामा जाँदा कोरोना सङ्क्रमण हुन्छ भन्ने डरले उनीहरू उपचार गराउन नगएका हुन्। “आफूहरूलाई लागेको रुघाखोकी र ज्वरो कोरोना होइन, हेल्थपोस्ट वा अस्पताल गइयो भने बरु आफूहरूलाई कोरोना सर्न सक्छ भन्ने त्रास उनीहरूमा देखियो,” सामाजिक अगुवा नटु रामले भने।

लहान नगरपालिका वडा नं १५ मा  पर्ने सिसवनी, वीरनगर, बानो, मेनहर्वा, ढोढना टोलका प्रायः दलित परिवारमा बिरामी परेका रामले बताए। हरेक घरका अधिकांश सदस्य ज्वरोले थलिएको भएपनि आफूहरू स्वास्थ्य चौकी जान नसक्ने र सकभर जान पनि नचाहने स्थानीय रामपति देवी बताउँछिन्। गाउँमा स्वास्थ्यकर्मी आएदेखि उपचार गरौंला भन्ने रहेको तर हालसम्म कुनै स्वास्थ्यकर्मी आफूहरूको गाउँटोलमा नआएको उनले प्रतीकसँग गुनासो गरिन्।

बिरामीहरूमा टाउको दुख्ने, ज्वरो आउने र सुक्खा खोकी लाग्ने समस्या रहेको उनले बताइन्। उपचार गर्नका लागि दलित बस्ती क्षेत्रका बासिन्दाले दुईदेखि तीन किलोमिटरसम्म पार गरेर लहान बजार आइपुग्नुपर्छ। उक्त बस्तीमा रोगसँगै भोकको समस्या पनि शुरू भएकोले झन् उपचार गर्ने खर्चसमेत नभएको सिसवनी निवासी ५१ वर्षीय राम सदायले बताए। “बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै किसिमको रोग छ, तर कोरोनाविरुद्ध सुरक्षाका उपायहरू अपनाउन आवश्यक सामग्री खरीद गर्ने र उपचार गर्ने खर्च दलितहरूसँग छैन,” उनको भनाइ थियो।

मजदूरी गरेर जीविका चलाउँदै आएका दलितहरूको सिसवनी गाउँमा मात्रै ४३ घरधुरी छ। ज्वरो फैलिएपछि कतिपय घरधुरीमा त चुलो पनि बल्न छोडेको सोही स्थान निवासी ननुवा सदायले बताए।

घरका सबैजना ज्वरोले थलिएपछि चुलो बालिदिने कोही नभएको घर केही छन् भने अधिकांश घरमा काम गर्न सक्ने जति थलिएपछि खर्च र खाने कुरा केही नहुँदा बिहान–बेलुका चुलो बल्न छोडेको ५३ वर्षीया सुर्जीदेवी सदायले बताइन्। उक्त बस्तीमा अघिल्लो वर्ष लकडाउनमा केही सङ्घसंस्था र पालिकाले समेत लकडाउनको सातापछि नै राहत वितरण गरेको थियो। तर यस वर्ष लकडाउनको तीन साता बित्न लाग्दा पनि कतैबाट कुनै राहत नआएको उनले गुनासो गरिन्।

यस सम्बन्धमा लहान नपा वडा नं १५ का अध्यक्ष तेजनारायण चौधरी भने दलित बस्तीका बिरामीहरूलाई निश्शुल्क उपचारका लागि स्वास्थ्य चौकीमा आउन पटक–पटक खबर गर्दा पनि नआएको बताउँछन्। ज्वरोले थलिएकाहरूमा कोरोना भाइरस सङ्क्रमण भएको हुन सक्ने वडाध्यक्ष चौधरीले आशङ्का गरे। उपचार गराउन नआए पनि नगरको स्वास्थ्य शाखासँग समन्वय गरी यसै साताभित्र दलित बस्तीमा स्वास्थ्यकर्मीको टोली लगेर स्वास्थ्य परीक्षण तथा औषधोपचार गर्ने तयारी भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here