प्रस, परवानीपुर, ११ जेठ/
प्रदेश नं २ मैं पहिलोपटक फोक्सोको शल्यक्रिया गरी त्यसभित्र फसेको फलामको टुक्रा निकालिएको छ।
यस्तो शल्यक्रिया वीरगंज, गण्डकमा रहेको नारायणी वयोधा अस्पतालको चिकित्सक टोलीले गरेको अस्पतालले जनाएको छ। दूरबीन विधि (भिडियो असिस्टेड थोराकोस्कोपिक सर्जरी–भिएटिएस)ले गरिने यो शल्यक्रिया निकै जटिल मानिन्छ। वीरगंजको एक कारखानामा कार्यरत आसाम भारत निवासी पप्पु बोहराको कामकै सिलसिलामा भएको दुर्घटनामा फलामको एउटा टुक्रा वेगले उछिट्टिएर उनको दाहिने छाती छेडेर फोक्सोमा पुगेको थियो। उनी वीरगंजको एक अस्पतालमा उपचारका लागि गए पनि उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरिएको थियो। तर उनी एकपटक नारायणी वयोधा अस्पतालमा उपचारको लागि जाँदा सिटी स्क्यान गरेर हेर्दा फलामको टुक्रा दाहिने फोक्सोभित्र रहेको देखिएपछि तत्काल शल्यक्रिया गर्ने तयारी थालियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रजनीश भारतीका अनुसार डा सौरभ शर्माको टोलीले दूरबीन विधिबाट सफल शल्यक्रिया गरी उक्त फलामको टुक्रा निकालेको थियो। दूरबीन विधिबाट शल्यक्रिया भएकोले सानो घाउबाट नै शल्यक्रिया गर्न सम्भव भएको थियो।
नारायणी वयोधा अस्पतालले स्थापनाकालदेखि नै विभिन्न आधुनिक र विशिष्ट प्रविधि भिœयाएर जटिल रोगको उपचार गर्दै आएको छ। यसअघि वयोधा अस्पतालमा दूरबीन विधिबाट पित्तको थैली, एपेन्डिक्स, विभिन्न प्रकारका हर्निया, मिर्गौला, ठूलो आन्द्रा खस्नेलगायतका रोगहरूको शल्यक्रिया गर्दै आएको छ। जुन प्रदेश २ का अस्पतालमा नौलो मानिन्छ।