प्रस, वीरगंज, १० जेठ/
सीमावर्ती क्षेत्रमा हुँदै गरेको भन्सार छलीका अवैध कारोबार (तस्करी) अहिले पनि जारी छ।
निषेधाज्ञा र सीमा सिल भएको अवस्थामा पनि तस्करी भने नरोकिएको स्थानीयहरूले गुनासो गरेका छन्। सर्वसाधारणहरूलाई आवतजावतमा खुला सीमामा सुरक्षाकर्मीहरूले रोकटोक गर्दै आए पनि तस्करहरूलाई कुनै रोकटोक नभएको बताइएको छ। दैनिक जीवनयापन गर्ने पोके तस्करहरूले बिहान, दिउँसो, राति तस्करीको काम गर्दै आएका छन् भने संस्थागतरूपमा तस्करी गर्नेहरूले भने रातिपख तस्करी गर्ने गरेको खुला सीमासँग जोडिएका टोलका मानिसहरूले गुनासो गरेका छन्।
वीरगंज महानगर–१६ इनर्वा गाउँ, बारा जिल्लाको बलिरामपुर, विश्रामपुरबाट खुलेआम तस्करी भइरहेको स्थानीयहरूले गुनासो गरेका छन्। टाउकोमा सामान बोकेर, साइकल, टेम्पोसमेतबाट तस्करीका सामान ढुवानी हुने गरेको उनीहरूले बताएका छन्। सीमा क्षेत्रमा तैनाथ सशस्त्र र जनपद प्रहरी मूकदर्शक बन्ने गरेको उनीहरूले आरोप लगाएका छन्।
यसैगरी, पर्सा जिल्लाको भारतसँग जोडिएका सीमा क्षेत्रमा पनि तस्करी भइरहेको छ। खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले सुरक्षाकर्मीहरूले निर्धारण गरेको समयमा तस्करीका सामानहरू ल्याउने, लैजाने गरेको उनीहरूले बताएका छन्।