महोत्तरी, १० जेठ/रासस

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा जारी भएको छ। जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मका लागि दोस्रोपटक जारी गरिएको अवधि नसकिंदै जिल्ला प्रशासन कार्यालय, महोत्तरीले जेठ २० गते मध्यरातसम्म जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको हो। यस अघि वैशाख २२ गतेदेखि ३१ गतेसम्म पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो।

जेठ १ गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ २० गतेसम्म बढाएको हो। तेस्रोपटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम रहेको हुँदा भिडभाड र हिंडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ। यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र  घुमफिर र भेला जमघट केही गर्न नपाउनेगरी रोक लगाइएको छ। अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ। जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा थप गरिएको हो। जिल्लामा जलेश्वर अस्पताल र बर्दिवास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ। यसैगरी जलेश्वर अस्पताल, बर्दिवास अस्पताल र गौशालाको इमलीबजारसहित तीन ठाउँमा अक्सिजन सुविधासहितको आइसोलेशन कक्ष सञ्चालनमा छ।

जिल्लामा आइतवारसम्म यसपालि गत वैशाख १४ गते यताको महाव्याधि सङ्क्रमणले ५५ जनाको ज्यान गइसकेको छ। यस अवधिमा एक हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यीमध्ये एक हजार ४७५ जनामा सक्रिय सङ्क्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए। यस अवधिमा २१५ जनाले सङ्क्रमण जितेका छन्।

जिल्लामा यसपालि पहिलोपटक निषेधाज्ञा जारी हुनुपूर्व वैशाख १० देखि २१ गतेसम्ममैं महाव्याधि सङ्क्रमणले सातजनाको मृत्यु भएको थियो। त्यस अवधिमा ३३१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। वैशाख मसान्तमा मृतकको सङ्ख्या १३ र सङ्क्रमित सङ्ख्या एक हजार पुगेको थियो। जेठ लागेपछि निषेधाज्ञा थप गरिएको अवधिमा ७४५ नयाँ सङ्क्रमित थपिएका हुन्। यस अवधिमा मृतकको सङ्ख्या बढेर ४२ पुगेको छ। सङ्क्रमण दर थोरै घटे पनि मृत्यु दर बढेको र जोखिम अझै कायम रहेको हुँदा भिडभाड रोक्न, जमघट हुन नदिन निषेधाज्ञा तेस्रोपटक जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ। निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन्। निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ। पूर्वजानकारीविना कुनै जरूरी काम देखाएर हिंडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाई गर्ने प्रजिअ भट्टराईको आदेशमा उल्लेख छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिको सिफारिशमा तेस्रो पटक जारी निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय, महोत्तरीले आग्रह गरेको छ।

यस अघि २०७७ सालको वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो। त्यसैगरी सो अवधिमा दुई हजार १४१ मा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो। यसपालिको सङ्क्रमण बढी आक्रामक र थोरै लापरवाहीले ज्यानै लिन सक्ने देखिएको हुँदा सतर्क रहने अपिलसँगै निषेधाज्ञा थप्दै लानुपरेको जिल्ला प्रशासनले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here