प्रस, गरुडा, ७ भदौ/
केही खुकुलो बनाउँदै रौतहटमा निषेधाज्ञाको अवधि एक हप्ताको लागि पुनः थप गरिएको छ। अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, निर्माण सामग्रीका पसल तथा बैंकहरूलाई विभिन्न शर्तको अधीनमा रही बिहान ७ देखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
गत साउन २४ गतेदेखि जारी निषेधाज्ञा भदौ १ देखि ७ गतेसम्म लम्ब्याइएको थियो। यसलाई केही खुकुलो बनाउँदै भदौ ८ देखि १४ गतेसम्मको लागि दोस्रोपटक निषेधाज्ञा थपिएको हो। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र सङ्क्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेकोले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार भदौ १४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
नेपाल सरकारद्वारा जारी सबै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण पालना गराइ बैंक तथा वित्तीय संस्था तथा निर्माण सामग्री ढुवानी तथा खाद्यान्न सामग्री ढुवानीका सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ यादवले बताएका छन्। तर बैंक तथा वित्तीय संस्थाहरूको सेवा लिन तथा खाद्यान्न सामग्री खरीद गर्न जाँदा–आउँदा उपभोक्ताले सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय भएको प्रजिअ यादवले बताए।
निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा तरकारी खरीद गर्ने निहँुमा अत्यधिक मात्रामा मोटरसाइकलको प्रयोग हुन थालेपछि सवारीसाधन प्रयोगमा रोक लगाइएको हो।
विक्रेता तथा उपभोक्ताहरूले सेनिटाइजर, मास्क तथा पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने, मास्क नलगाइ आउने उपभोक्तालाई मालसामान बिक्री वितरण नगर्ने तथा अनिवार्यरूपमा भौतिक दूरी कायम गरी बिक्री वितरण गर्नुपर्ने शर्त राखिएको र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गराउने, कार्यान्वयवनमा अवरोध गर्ने गराउने, शर्त पालना नगर्नेउपर सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रजिअ यादवले बताएका छन्।
जिल्लाका विभिन्न ठाउँमा सानातिना हाटबजार, मुख्यतः तरकारी बजारमा भीडभाड हुन थालेको गुनासो बढेपछि प्रजिअ यादवले भीडभाड नगर्न आग्रह गर्दै महामारीबाट जोगिन र जोगाउन सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here