धानबालीमा मलको मात्रा नमिल्दा गबारो कीराको प्रकोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सप्तरी, ७ भदौ/
सप्तरी जिल्लाका विभिन्न पालिकास्थित धानबाली गबारो कीराले नष्ट पार्न शुरू गरेको छ।
जिल्लाको खडक नगरपालिका क्षेत्रमा प्रायः धानबाली सुक्न थालेपछि चिन्तित किसानहरूले रोगको पहिचान र निदान गरिदिन प्रदेश नं २ सरकारलाई अनुरोध गरेका थिए। किसानको माग अनुसार स्थलगत निरीक्षण गर्न पुगेका प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीलगायत प्रदेशका अधिकांश क्षेत्रमा यही समस्या देखिएको बताएका छन्।
खेतमा असन्तुलित रासायनिक मल तथा प्रतिकूल वातावरणका कारण धानमा गबारो कीराको प्रकोप बढेको उनको भनाइ थियो। पुतली जातको गबारो कीराले धानको डाँठ काट्ने हुनाले बोट सुक्ने गरेको छ। टोलीमा सहभागी कृषि ज्ञान केन्द्र राजविराजका पिपिओ दिनेशप्रसाद यादवका अनुसार खेतमा प्रयोग गरिने रासायनिक मल डिएपी, युरिया, पोटासलगायतको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर हुँदा कीराले आक्रमण गरेको हो। मलको मात्रा मिलाएर हालेमा यो समस्या आउँदैन।
रोग लागिसकेपछि गबारो कीरालाई नियन्त्रण गर्न कार्बाेथेरामिन कीटनाशक औषधि सातामा दुई/तीन पटक छर्न सुझाव दिइएको छ।
यसबारेमा किसानलाई प्राविधिक ज्ञानसहित रोकथाम तथा नियन्त्रणको लागि प्रत्येक स्थानीय तहमा रहेको कृषि प्राविधिकलाई परिचालन गर्न निर्देशन दिइसकेको मन्त्री साहले बताएका छन्।
सप्तरीमा कुल ८० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये यस वर्ष ६२ हजार ८०० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको छ। यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतभन्दा बढी हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस