प्रस, वीरगंज, ९ जेठ/

जिल्ला प्रहरी कार्यालय, बारासमेतले कलैया उपमहानगर–७ रङ्गपुर निवासी दुईजना नाबालकको हत्याको रहस्य सुल्झाएको छ।

बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले हत्या सम्बन्धमा शङ्कास्पद अवस्थामा पक्राउ परेका २५ वर्षीय फरमुल्लाह अन्सारीबाट घटनाको रहस्य खुलेको बताएका छन्।

बारा प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोलीले घटना भएको जेठ ४ गतेदेखि विभिन्न कोणबाट अनुसन्धान गरेको र अन्सारी हत्यारा भएको पुष्टि गरेको  छ।

प्रवक्ता मिश्रले हत्याको कारण नाबालककी आमा र हत्याराबीच अनैतिक सम्बन्ध भएको बताएका छन्। आमासँगको अवैध सम्बन्धमा छोराहरूबाट व्यवधान महसूस गरेर अन्सारीले हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए।

कलैया उपमनपा–७ रङ्गपुर निवासी ९ वर्षीय अमान अन्सारी र ७ वर्षीय उसमान अन्सारीको जेठ ३ गते घाँटी रेटी हत्या भएको थियो। हत्यारा अन्सारीले उनीहरूलाई ललाइफकाइ घरबाट लगेको र कलैया उपमनपा–११ स्थित मदर्सा सलफिया कन्जलुमको निर्माणाधीन भवनमा हत्या गरेका थिए। अन्सारीको घरबाट धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ।

नाबालकका पिता वैदेशिक रोजगारमा छन् र यो अवधिमा निजकी आमा र अन्सारीबीच सम्बन्ध स्थापित भएको र पछि बालकबाट सम्बन्धको खुलासा हुने भय देखेर अन्सारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here