प्रस, गरुडा, ८ जेठ/
दिवङ्गत पत्रकार तथा दुई संस्थाका लेखापाल मनोजकुमार चौधरीको किरियाखर्च भनी तीन संस्थाले आश्रित परिवारलाई सहयोग उपलब्ध गराएका छन् ।
गरुडास्थित श्री माध्यमिक विद्यालयले एक लाख एकाउन्न हजार र मध्यरौतहट बहुमुखी क्याम्पसले एकाउन्न हजार रुपैयाँको चेक मृतकका दाजु रामकृष्ण चौधरीलाई हस्तान्तरण गरेका छन् । मृतक चौधरी दुवै संस्थाका लेखापाल पदमा कार्यरत थिए ।
यसैगरी, रेडियो मधेस मसला एफएम गरुडाले पचास हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मृतक चौधरी एफएम सञ्चालक समिति सदस्य तथा स्टेशन मैनेजर थिए ।
मृतक चौधरीको निवासमा पुगेर वडाध्यक्ष तथा मावि गरुडाका व्यवस्थापन समिति अध्यक्ष चुनचुनप्रसाद साह, मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका अध्यक्ष लक्ष्मण साह, श्री मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेलले शोक व्यक्त गर्दै किरियाखर्च हस्तान्तरण गरेका हुन् ।
यसैबीच, बज्जिका साहित्य सङ्गम रौतहटले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गर्न शोकसभा गरेको छ । जूम प्रविधिबाट भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष किशुनदयाल श्रीकृष्ण गरेका थिए । मृतक चौधरी सङ्गगका कोषाध्यक्ष थिए । मृतक चौधरीको व्यक्तित्व तथा कृतित्वको बारेमा सञ्जय साह मित्र, रेणु गुप्ता, रामअधार पासवान, भोला पासवान, शेख चाँद अलि, सङ्गीता सहनीलगायतले प्रकाश पार्दै शोक प्रस्ताव पारित गरेका थिए ।