प्रस, रौतहट, ७ जेठ/
रौतहट जिल्लामा तेस्रोपटक निषेधाज्ञा थप गरिएको छ ।
रौतहटमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मको लागि थप गरिएको हो । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी राख्ने निणर्य गरेको हो ।
कोरोना सङ्क्रमण दर कम नभएपछि जेठ १३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निणर्य भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । दिन प्रतिदिन कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएपछि सोको नियन्त्रणका लागि थप एक साता निषेधाज्ञा लम्ब्याउने निणर्य गरिएको प्रजिअ यादवले बताए ।
निषेधाज्ञामा अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन निषेध गरिएको छ ।
निषेधाज्ञामा खाद्य सामग्री, किरानापसल, फलफूल, तरकारी पसलहरू हप्ताको दुई दिन सोमवार र बिहीवार मात्र खोल्न दिने निणर्य यथावत् छ भने बैंक तथा वित्तीय संस्थाहरू २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी हप्ताको दुई दिन आइतवार र बुधवार मात्र खोल्न दिने पूर्ववत् निणर्यलाई निरन्तरता दिइएको छ । माछा, मासु बिक्री गर्न रोक लगाइएको छ भने स्वास्थ्य मापदण्ड पालना गरी विकास निर्माण कार्य सञ्चालन गर्न इजाजत दिइएको छ ।
निषेधाज्ञामा औषधि तथा औषधिजन्य पसल, पेट्रोल पम्प, उद्योग, कलकारखाना २४सैं घण्टा खुल्ला राख्न भनिएको छ । अत्यावश्यक सेवाबाहेक सरकारी कार्यालय, बीमा, सार्वजनिक संस्थालगायतका कार्यालयहरूको सेवाप्रवाह स्थगित गरिएको छ भने न्यूनतम कर्मचारीको उपस्थितिमा आन्तरिक प्रशासन शाखा सञ्चालन गर्न आदेश गरिएको छ । एकै ठाउँमा रोकी सञ्चालन हुने व्यापार, व्यवसाय, हाटबजार लगाउन प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, खानेपानी, विद्युत्, ढुवानी तथा यातायातका साधनहरू सञ्चालनमा रहनेछन् भने अत्यावश्यक कार्यमा खटिने सरकारी नम्बर प्लेटका सवारीसाधनहरू, आधिकारिक प्रेसपास भएका सवारीसाधनहरू, स्वास्थ्यकर्मी, प्रहरी र बैंकका कर्मचारीहरूलाई पनि सवारीसाधन सञ्चालन गर्न दिइएको छ । यसबाहेक सार्वजनिक यातायातका सवारीसाधनहरू बस, ट्याक्सी, जीप, टेम्पो र निजी सवारीसाधनमा चार र दुई पाङ्ग्रे सवारीसाधन चलाउन पूणर्रूपमा रोक लगाइएको छ ।
त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यक्रममा १५ जनाभन्दा बढी सहभागी नहुन र मास्क तथा सेनिटाइजरको प्रयोग गर्न भनिएको छ । त्यस्तै, निर्माण सामग्री ढुवानी राति ८ देखि बिहान ७ बजेभित्र गर्न आदेश जारी भएको छ । जारी भएको निषेधाज्ञा आदेश उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।