प्रस, पर्सागढी, ७ जेठ/
पर्सागढी नगरपालिकामा किराना सामानहरू महङ्गो मूल्यमा बिक्री भइरहेको छ ।
बाराको जीतपुर र पर्साको वीरगंज महानगरपालिकामा रहेका थोक विक्रेताले किराना सामानको मूल्य बढाएकाले आफूहरूले पनि महँगो मूल्यमा सामान बिक्री गर्नु बाध्यता भएको पसलेहरूले बताए ।
दाल, तेल, मसाला, चामल, चिनी, खुर्सानी, आलु र प्याजसमेत महँगो मूल्यमा बिक्री भइरहेको उपभोक्ताहरूले गुनासो गरेका छन् । उनीहरूले निषेधाज्ञा अवधिमा सबै खाले सामानको मूल्य बढेको गुनासो गरे । कतिपय सामान निषेधाज्ञाको बीस दिनमा दोब्बरी मूल्यमा बिक्री भइरहेको उपभोक्ताहरूले बताएका छन् ।
वीरगंजमा मात्र सम्बन्धित निकायले अनुगमन गरेको तर ग्रामीण क्षेत्रमा अनुगमन नभएको र स्थानीय निकाय, वडापालिका पनि यस्ता खाले गतिविधिविरुद्ध नदेखिएकाले उपभोक्ताहरू ठगिन बाध्य भएका छन् ।