प्रस, सेढवा, ६ जेठ/
जेठको पहिलो सातासम्म पटक-पटक परेको बेमौसमी वर्षाका कारण किसानहरूले खेत खनजोत गर्न नपाउँदा चिन्तित भएका छन् ।

लगातार वर्षा भइरहेका कारण मुख्य बाली धानको लागि खेतबारी किसानहरूले खनजोत गर्न पाएका छैनन् । खेतमा लगाइएका गहँुबाली भिœयाएको महीना दिनभन्दा बढी बितिसक्दा पनि बेमौसमी वर्षाका कारण खेतबारी खनजोत गर्न नसकेको किसानहरूले गुनासो गरेका छन् ।

जीराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान प्रदीप चौधरीका अनुसार अहिलेको समयमा टन्टलापुर घाम लाग्नुपर्ने र घाम लाग्दा किसानहरूले खेतको आलीधुर सकेर एक/दुई पटक जोताइ गर्दा खेतमा भएका झारपात तथा विभिन्न प्रकारका घाँस सुकेर सफा हुने गरेको बताए । तर यसपटक बेमौसमी वर्षाका कारण किसानहरूले गहँुको ठुटोसमेत जलाउन नसकेको किसान चौधरीले बताए ।

खेतमा जमेको पानी सुक्न नपाउँदै पटक-पटकको वर्षाका कारण खेत जोत्न नसकिएको जगरनाथपुर गाउँपालिका वडा नं १ का किसान रमेश चौधरीले गुनासो गरे । बेमौसमी पानीका कारण वैशाख महीनाको अन्तिम सातादेखि सोना सारो, भदई मन्सुली तथा सोना मन्सुली धानका बीउ किसानहरूले ब्याडमा छर्न नपाएको किसान चौधरीले बताए ।

अहिलेसम्म धानबालीका लागि खेत खनजोत नहँुदा माटो सुकेर खुकुलो नहुने तथा माटोमा पानी प्रवेश गर्ने क्षमता नहुँदा बाली राम्रोसँग फस्टाउन नसक्ने पटेर्वासुगौली गाउँपालिका वडा नं ४ का किसान शिवनारायण दास थारूले बताए । साथै धानबालीका लागि घाम तथा पानी समानरूपमा आवश्यक हुने हुँदा अहिले पानीको मात्रा बढी भइरहेकाले बाली राम्ररी सप्रिन नसक्ने किसान थारूले बताए ।

पटेर्वासुगौली गाउँपालिका कृषि शाखाका प्रमुख गोविन्द भैया थारूले धानको बीउ छर्न खासै ढिलो नभएको बताए । तर धानबालीका लागि घाम तथा गर्मी मौसममा खनजोत गर्दा तलको माटो माथि र माथिको माटो तल जाँदा माटोमा भएका विभिन्न अनावश्यक झारपात सुकेर तथा कुहेर कम्पोस्ट मलमा परिवर्तन हुँदा बालीको लागि फाइदा हुने प्रमुख थारूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here