प्रस, वीरगंज, ५ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले निषेधाज्ञा उल्लङ्घन गरी कागजपत्रसमेत नभएका १९ वटा भारतीय नं को मोटरसाइकल नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।
जिप्रका पर्साले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र यो अवधिमा भारतीय मोटरसाइकलविरुद्ध अभियान चलाउँदा निषेधाज्ञा उल्लङ्घन गरी विनाइजाजत सञ्चालनमा आएका र कागजपत्रसमेत नभएका १९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएको सबै मोटरसाइकल आवश्यक कारबाईका लागि भन्सार चलान गरिएको छ ।
भारतीय सवारीसाधनहरू भन्सार कार्यालयबाट सामान्य अवस्थामा इन्ट्री गराई महानगरसम्म एक दिनका लागि प्रवेश गर्न पाउने र सोही दिन भारत फिर्ता हुनुपर्ने प्रावधान छ ।
महानगरबाहेक अन्यत्रका लागि दैनिक तोकिएको भन्सार शुल्क तिरेर प्रवेश गर्न पाउने व्यवस्था छ । निषेधाज्ञामा भन्सार कार्यालयबाट मालवाहक सवारीसाधनबाहेक अन्य प्रवेश नगरेको, तर वीरगंजमा भारतीय सवारीसाधनहरू निर्बाध सञ्चालनमा रहेपछि प्रहरीले अभियान चलाउँदा १९ वटा मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।