प्रस, परवानीपुर, ५ जेठ/
वीरगंजमा थप ७ जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगंज हेल्थकेयर, बहुअरीमा ३ जना, नारायणी अस्पतालमा २ जना, तराई र स्पर्श हस्पिटलमा १/१ जना गरी कुल ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साका ५ र रौतहटका २ जना रहेका छन्, जसमा २ जना महिला र ५ जना पुरुष छन् । कोभिड निमोनियाको कारण श्वासप्रश्वासमा समस्या आएर मृत्यु हुनेहरूको उमेर ४१ देखि ९० वर्षसम्मको रहेको अस्पतालहरूले जनाएका छन् ।
रौतहट, चन्द्रपुर नपा-९ का ९० वर्षीय वृद्धको गएराति ९ बजेर १० मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको थियो भने रौतहटकै गौर नपा-८ की ५१ वर्षीया महिलाको बुधवार बिहान १० बजेर १० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । चन्द्रपुरका सङ्क्रमितलाई ४ गते भर्ना गरी सोही दिन एन्टिजेन विधिबाट कोरोना पुष्टि भएको थियो भने गौरकी महिलालाई गौर अस्पतालमा ३० गते एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ३० गते नै थप उपचारको लागि नारायणी अस्पताल ल्याइएको थियो ।
त्यसैगरी, तराई अस्पतालमा पर्सा, जीराभवानी गापा-१ की ४२ वर्षीया महिलाको बुधवार बिहान १ बजेर १० मिनेटमा मृत्यु भएको थियो । निजलाई जेठ २ गते अस्पताल भर्ना गरी एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको थियो। त्यसैगरी, स्पर्श मल्टिस्पेशलिटी हस्पिटल, गण्डक, बहुअरीमा वीरगंज-१० का ६५ वर्षीय वृद्धको गएराति १२ बजे मृत्यु भएको थियो । निजलाई वैशाख २५ गते पिसिआर परीक्षणबाट सङ्क्रमित देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
वीरगंज हेल्थकेयर, गण्डक, बहुअरीमा हिजो साँझ तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज-३ का ४१ वर्षीय, वीरगंज-१३ का ६१ वर्षीय र वीरगंज-१४ का ४८ वर्षीय गरी तीनजना पुरुष रहेका छन् । ४१ वर्षीय पुरुषको हिजो साँझ ६ बजे, ६१ वर्षीयको हिजै साँझ साढे ७ बजे, ४८ वर्षीय पुरुषको हिजो राति १० बजेर २० मिनेटमा मृत्यु भएको थियो ।
४१ वर्षे पुरुषलाई २४ गते भर्ना गरी २७ गते पिसिआरबाट कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ६१ वर्षीय पुरुषलाई ३ गते भर्ना गरी एन्टिजेन परीक्षणमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ४८ वर्षीय पुरुषलाई २७ गते अस्पताल भर्ना गरी सोही दिन एन्टिजेन परीक्षण्बाट कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।