प्रस, वीरगज, २ जेठ/
वीरगंज महानगरपालिकामा रहेका अस्पतालमा आइतवार साँझसम्म दशजना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा आठजना र वयोधा तथा वीरगंज हेल्थकेयरमा एक/एकजना गरी दशजनाको मृत्यु भएको बताइएको छ ।
नारायणी अस्पतालका कोरोना संयोजक डा. सरोजरोशन दासले आइतवार बारा जिल्ला निजगढ नगरपालिका-७ निवासी ४३ वर्षीय पुरुषको बिहान ६ बजे निधन भएको बताए । उनी वैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।
यसैगरी परसौनी गापा-५ बारा निवासी ४६ वर्षीय पुरुषको बिहान पौने एघार बजे निधन भयो । उनी अस्पतालमा वैशाख २१ गते भर्ना भएका थिए । सुवणर्पुर गापा-२ निवासी ६० वर्षिय पुरूषको बिहान सवा दुईबजे निधन भएको संयोजक डा. दासले बताए । उनी वैशाख ३० गते भर्ना भएका थिए ।
यसैगरी कलैया उपमहानगरपालिका-२५ सिसहनिया, बारा निवासी ३८ वर्षीया महिलाको बिहान सवा चार बजे निधन भएको थियो । महिला सङ्क्रमित भएर वैशाख २५ गते नारायणी अस्पतालमा भर्ना थिइन् । यसैगरी सर्लाही जिल्ला फरहथवा गापा-५ निवासी ४७ वर्षीया महिलाको बिहान साढे पाँच बजे निधन भयो । उनी अस्पतालमा वैशाख २१ गते भर्ना भएकी थिइन् ।
वीरगंज महानगरपालिका-१६ मिथिलानगर निवासी ४४ वर्षीय पुरुषको बिहान पौने नौ बजे निधन भयो । उनी वैशाख १५ गतेदेखि सङ्क्रमित भएर अस्पतालमा उपचार गराउँदै थिए । बारा जिल्ला परवानीपुर गापा-९ छातापिपरा निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे एघार बजे निधन भयो । उनी वैशाख २८ गते अस्पतालमा भर्ना भएका थिए ।
बारा जिल्ला जितपुरसिमरा उपमहानगर-२ निवासी ३३ वर्षीय युवकको दिउँसो पौने एक बजे निधन भयो । उनी वैशाख २५ गते भर्ना भएका थिए । यसैगरी वीरगंज महानगरपालिका-१३ राधेमाई निवासी ५० वर्षीया महिलाको आज दिउँसो सवा एक बजे निधन भएको संयोजक डा. दासले बताए । महिला वैशाख ३१ गते भर्ना भएकी थिइन ।
वीरगंज हेल्थकेयर अस्पतालमा वीरगंज-१० आदर्शनगर निवासी ६८ वर्षीया महिलाको आज बिहान सवा चार बजे निधन भएको जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए ।
नारायणी वयोधा अस्पतालमा आज बिहान वीरगंज महानगर-१ बजारछपकैया निवासी ६४ वर्षीय पुरुषको बिहान सवा तीन बजे निधन भएको छ । उनी सो अस्पतालमा वैशाख १६ गते भर्ना भएका थिए ।
गोपाल मण्डलीबाट ६ जना डिस्चार्ज
वीरगंज महनगरपालिकाले गोपाल मण्डली धर्मशालामा सञ्चालन गरेको अस्थायी कोभिड-१९ अस्पतालबाट हिजो ६ जना डिस्चार्ज भएका छन् ।
हिजो तीनजना भर्ना भएकासहित अस्थायी कोभिड अस्पतालमा जम्मा २४ जना रहेकामा ६ जना डिस्चार्ज भएर गएको, तीनजनालाई रिफर गरिएपछि हिजो साँझ ५ बजेसम्म अस्थायी कोभिड अस्पतालमा १८ जना सङ्क्रमित छन् ।
१३ जना पुरुष र पाँचजना महिला सङ्क्रमित अहिले अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेको वीरगंज महानगरपालिकाका स्वास्थ्यकर्मी रितेश जयसवालले बताए ।