प्रस, वीरगंज, २ जेठ/
वीरगंजको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारी तथा निजी बैंकहरूले नगद कारोबार बन्द गर्ने निणर्यमा संशोधन गरेका छन् ।
मुलुकको प्रमुख आर्थिक राजधानी, आयात-निर्यात, व्यापार एवं कोरोना महामारीमा उपचारका लागि नगद कारोबार अति आवश्यक भएको भन्दै वीरगंज बैंकर्स एसोसिएशनले फूलफेजको नगद कारोबारलाई स्वास्थ्य मापदण्ड पालना गरी सुविधा दिने वीरगंज बैंकर्स एसोसिएशनका अध्यक्ष नीतेश खडकीले बताए ।
सनराइज बैंकका प्रबन्धक र एसोसिएशनका अध्यक्ष खडकीले सूचना जारी गर्दै कोरोना महामारीको कारण वीरगंजको विभिन्न बैंकका ९१ जना कर्मचारी सङ्क्रमित भए तापनि बैंकहरूले नगद कारोबार बन्द हुँदा जनजीवन तथा व्यापार प्रभावित भएकोले फूलफेजको नगद कारोबारसहितको बैंकिङ सेवा उपलब्ध गराउन वीरगंजका बैंकहरू अग्रसर रहेको बताए।
उनले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंकले नगद तथा अन्य भन्सार प्रयोजनका अतिआवश्यक सेवा उपलब्ध गराउने बताए । एसोसिएशनले अति आवश्यक भए मात्र चेक वा नगद कारोबार गर्न बैंकमा आउने र बढिभन्दा बढी विद्युतीय सेवालाई उपभोग गर्न पनि ग्राहकहरूलाई अपिल गरेको छ ।