राधेश्याम पटेल, वीरगंज, १ जेठ/
नारायणी अस्पताल वीरगंज प्रदेश २ कै ठूलो सरकारी अस्पताल हो । जसले पर्सादेखि सर्लाही र भारतका बिरामीको उपचार गर्दै आएको छ । तर कोरोना महामारीको दोस्रो लहरमा यस अस्पतालको सबै प्रणाली बिस्तारै असफल हुन थालेको अनुभूति हुँदैछ ।
१२५ शøयाको कोभिड अस्पताल सञ्चालन गरेको यो अस्पतालको कोभिड वार्डको जर्जर अवस्था समेटिएको एउटा भिडियो सार्वजनिक भएको छ । अस्पताल भनेको बिरामीहरूको लागि मन्दिर र डाक्टर स्वास्थ्यकर्मीहरूलाई भगवान् ठानिन्छ । तर त्यो विश्वास नारायणी अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीले बिरामीलाई दिन नसकेको एकजना सङ्क्रमितको आरोप छ ।
अस्पतालमा भर्ना भएका सङ्क्रमतिहरूको उपचार तथा स्यहारमा समस्या देखिएपछि अहिले एकजना सङ्क्रमितको दुईजना कुरुवा वार्डभित्र सेवामा खटेका छन् ।
एकजना सङ्क्रमितका कुरुवा (छोरा) ले दिनमा मुश्किलले एकपटक कुनै डाक्टर आउने र त्यसबाहेक कोही नआउने बताएका छन् । अर्का कुरुवाले चार दिनदेखि अस्पतालमा बसेको र दिनमा ७,८ वटा सिलिन्डर आफैं वार्डसम्म पुर्याउने र खाली सिलिन्डर तल्लसम्म झार्ने गरेको बताएका छन् । कुरुवाहरू अस्तपालमा सिलिन्डर बोकेको गाडी आउँदा आफ्ना सङ्क्रमितको लागि खोसाखोस गर्ने लज्जाजनक दृश्य पनि अस्पतालमा देखिन्छ ।
कुरुवाले नै बिरामीलाई मास्क र फेस शिल्ड लगाएर खाना, पानीदेखि फिजियोथेरापीसमेत गरेको भिडियो पनि सार्वजनिक भएको छ । कोभिड वार्डको आइसियुमा धूलो थुप्रिएको र सफाइ नगरिएको दृश्य पनि भिडिओमार्फत सार्वजनिक भएको छ । यसले अस्पतालको सफाइबारे सहज अनुमान लगाउन सकिन्छ । अस्पतालका मेसु डा. सञ्जय ठाकुर सबै सेवा चुस्तदुरुस्त रहेको दाबी गर्छन् । तर सार्वजनिक गरिएको भिडिओले आइसियुजस्तो संवेदनशील ठाउँको दुरवस्था प्रस्ट देख्न सकिन्छ ।