प्रस, परवानीपुर, ३१ वैशाख/

पर्साको सदरमुकाम वीरगंजबाट करीब १२ किलोमिटर पश्चिम-दक्षिणमा पकहामैनपुर गाउँपािलका-१ धोरेमा वैशाख २९ गते एकजना ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

बालिबालिकासहित ३५ जना सदस्य रहेको सो परिवारमा अधिकांशलाई ज्वरो, रुघाखोकी, जीउ दुख्ने समस्या छ । परिवारका १२ जनाले पिसिआर परिक्षण गराउँदा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शहरबाट अहिले ग्रामीण भेगतिर कोरोना सङ्क्रमण पुष्टि हुने क्रम शुरू भएको छ । पर्साको पश्चिमी क्षेत्र जगरनाथपुर गाउँपालिकामा पनि यस अघि नै वडा नं ५ को चिलझप्टीमा समुदाय स्तरमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कहीं न कहीं गाउँमा कोरोना सङ्क्रमण फैलिनुमा तामझाम र भीडभाड, वैवाहिक कार्यक्रम र भोजभतेरले सघाइरहेको गाउँलेहरूको विश्वास छ ।

धोरेका मृत्यु भएका ३२ वर्षीय पुरुष पनि गाउँमै एकजनाको भोजमा सहभागी भएको पारिवारिक स्रोतको भनाइ छ । यस्तै अहिले हरेक गाउँमा दैनिक २-३ वटा विवाह र भोज खाने-ख्वाउने काम भइरहेको गाउँले बताउँछन् । वैशाख ७ गतेदेखि विवाहको लगन शुरू छ ।

तराईमा विशेषगरी राति जन्ती जाने चलन छ । सयौंको भीडभाड लिएर जन्ती जाने क्रममा कतिपयले मास्कसमेत लगाएका हुँदैनन् । डिजेसहित बजार-गाउँ परिक्रमा गरिन्छ, त्यसपछि बेहुलीको घर पुगेर विवाहको विभिन्न विधि पूरा गरिन्छ ।

समूहमा नाश्ता, खाना, पानसुपारी, चीसो पेय र पानी पनि खुवाइन्छ । चेलीबेटीको बिहेमा गाउँलेलाई भात खुवाउने चलन छ । केटा पक्ष्ँले जन्ती लान अघि भोज खुवँउँछ । यसरी एउटा विवाहमा हजारौंको भीड हुने र विवाह हुने घरमा दर्जनौं आफन्त, पाहुना आएर दुई चार दिन वास बस्छन् ।

यसरी विवाहको निरन्तर कार्यक्रम चलिरहँदा प्रहरी प्रशासन रोक्न असमर्थ देखिन्छ । पर्साका एकजना प्रहरी अधिकृतले भने-“हरेक गाउँमा विवाहका भइरहेको छ, पोहोर विवाह हुन सकेको थिएन, यसपालि पनि जतिसुकै सूचना प्रसारित गर्दा पनि कोही मान्दैन । बल प्रयोग गदाए प्रहरीसँगै गाउँले झगडा गर्न आउँछन् । के गर्ने, सामाजिक दूरी र १५ जनाको उपस्थितिमा विवाह गर्न भनेका छौ, तर पालना भइरहेको छैन ।”

चिकित्सकहरूले विवाह तथा भोजका कार्यक्रम ठाप्पै रोक्नुपर्ने सुझाव दिन्छन् । नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले विवाह र दाहसंस्कारको भोजमा अंकुश लगाउन स्थानीय प्रशासनले रणनीति बनाएर लाग्नु पर्ने बताउँछन् ।

भीडभाड हुने यस्ता कार्यक्रमहरूमा ग्रामीण भेगमा सङ्क्रमण दर उच्च पारेको उनले बताए । उनले पछिल्लो समय मृत्यु हुने पनि शहरभन्दा टाढाको पालिकाका थिए । ग्रामीण भेगमा फैलिने सङ्क्रमणको चेनक्रम तोड्न स्थानीय जनप्रतिनिधि सक्रिय भएर यस्तो कार्यक्रममा प्रतिबन्ध लगाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here