प्रस, वीरगंज, ३० वैशाख/
वीरगंज महानगरपालिकाभित्र सञ्चालित बैंकहरू आइतवारदेखि अत्यावश्यक सेवा दिनेगरी मात्र खुल्ने भएको छ ।
कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र सेवाग्राहीहरू बैंकमा सहज प्रवेशबाट निषेधाज्ञा पालनामा समस्या हुनाका साथै सङ्क्रमण फैलने जोखिम उच्च भएकोले आइतवारदेखि बैंक बन्द गरी अत्यावश्यक सेवा पहिचान गरी मानवीय सेवा मात्र प्रदान गरिने वीरगंज बैकर्स समूहका दिवससिंह ठकुरीले बताए ।
उनले राष्ट्र बैंकसँग सल्लाह र सुझाव लिएर इदको कारण बिहीवार सेवा बन्द नगरिएको तर आइतवारदेखि बैंकहरू बन्द गरिने बताए । उनले अत्यावश्यक र मानवीय सेवाका कामहरू सो अवधिमा पनि सीमित कर्मचारी राखेर हुने बताए । सबै बैंकहरूले सटर बन्द गर्ने र अत्यावश्यक काम भएकाहरूले सम्बन्धित बैंकका प्रबन्धकसँग सम्पर्क राखेर औचित्य पुष्टि गरी सेवा लिन सक्ने बताए । आइतवारदेखि एक साता यसैगरी सेवा प्रवाह गरिने उनले बताए । यो अवधिमा एटिएम र विद्युतीय सेवाबाट गरिने बैंकि« कारोबार भने पूर्ववत् जारी रहने बताइएको छ ।
पछिल्लो चरणमा सङ्क्रमण समुदायस्तरमा फैलिएपछि त्यसको शिकार बैंकर्सहरू पनि भएका थिए ।