प्रस, वीरगंज, ३० वैशाख/
वीरगंजको अस्पतालमा बिहीवार पाँचजना सङ्क्रमतिको उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालमा वीरगंज– ५ कुम्हालटोलका ५८ वर्षीय महिलाको आज बिहीवार बिहान डेढ बजे मृत्यु भएको छ । उनी वैशाख २० गते अस्पताल भर्ना भएकी थिइन् र उनमा वैशाख २१ गते पिसिआर पोजेटिभ पुष्टि भएको थियो ।
त्यसैगरी नारायणी अस्पतालमा वीरगंज–२६ सुगौलीबिर्ताकी ४५ वर्षीया महिलाको पनि बिहीवार बिहान साढे ३ बजे मृत्यु भएको छ । नारायणी अस्प्तालका कोभिड संयोजक डा. दासले सुगौलीबिर्ताकी महिला वैशाख १६ गते अस्पताल भर्ना भएकी र सोही दिन एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यसैगरी बिहिवार दिउँसो साढे तीनबजे वीरगंज–१५ लक्षमणवा निवासी ५५ वर्षिया महिलाको नारायणी अस्पतालमा मृत्यु भयो । उनलाई वैशाख २६ गते सङ्क्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो ।
नारायणी वयोधा अस्पताल गण्डकमा वीरगंज–१० आदर्शनगरका ७८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बिहीवार बिहान साढे ३ बजे उपचारको क्रममा मृत्यु भएको जानकारी गराएका छन् । वैशाख १६ गते अस्पताल भर्ना भएका निजको सोही दिन एन्टिजेन परीक्ष्ँणबाट कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी वीरगंज–२१ लिपनीबिर्ताका ५६ वर्षीय पुरुषको र बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरका ५० वर्षीय पुरुषको बिहीवार बिहान क्रमश: सवा दुई बजे बहुअरीस्थित स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा मृत्यु भएको हो । दुवैजना एक साता अघिदेखि कोरोना सङ्क्रमण पुष्टि भएर तीन दिन अघि मात्र नारायणी अस्प्ताल वीरगंजबाट सो अस्पतालमा रेफर भएर आएका थिए ।
यसैगरी वीरगंज–१ का ६५ वर्षीय पुरुषको बिहीवार बिहान ५ बजे भवानी अस्पतालमा मृत्यु भएको छ । वैशाख २९ गते उनी अस्पताल भर्ना भएका थिए । त्यस्तै सोही अस्पतालमा पोखरिया नपा–१० निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २० गते भर्ना उनको आज बिहान ६ बजे मृत्यु भएको हो । यसैगरी नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पताल वीरगंजमा बिहीवार एकजना शङ्कास्पदको मृत्यु भएको छ । बारा जिल्ला कोल्हवी नगरपालिका–३ निवासी ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान ४ बजे उनको मृत्यु भएको अस्पताले जनाएको छ । यसैगरी सो अस्पतालमा हिजो पर्साका दुईजना र बाराका एकजना शङ्कास्पद व्यक्तिको मृत्यु भएको अस्पतालका डा. ओमप्रकाश कुशवाहाले बताए । सङ्क्रमणबाट मृत्यु भएकाहरूमा निमोनियाको कारण देखिएको र उनीहरूको दुवै फोक्सो काम गर्न नसकेर श्वासप्रश्वासको समस्या प्रमुख कारक देखिएको चिकित्सकले बताएका छन ।
९४ सङ्क्रमित थप
नारायणी अस्पताल, वीरगंजको पिसिआर प्रयोगशालाले बिहीवार ९४ जना सङ्क्रमित पुष्टि गरेको छ । १९२ जनाको बुधवार स्वाब सङ्कलन गरी पिसिआर गर्दा ९३ जना र एकजना एन्टिजेनबाट गरेर ९४ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित पुष्टि भएकामा पर्साका ६९ जना, बाराका १८ जना, रौतहटका ६ जना र सर्लाहीका १ जना गरी कुल ९४ जना छन् ।
सङ्क्रमितमध्ये ३० जना महिला र ६४ जना पुरुष छन् र उनीहरूको उमेर १२ वर्षदेखि ८८ वर्ष रहेको छ भने सिटी भ्याल्यु १३.९ देखि ३३.७ सम्म छ ।