महोत्तरी, २८ वैशाख (रासस) ः

जिल्ला प्रशासन कार्यालय, महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ। जिल्लाभरि गत बुधवारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिंडडुलसमेत रोक्नेगरी आज बिहानैदेखि लागू हुनेगरी थप आदेश जारी गरेको हो। यो आदेशले अब एक्लै हिंड्न वा जरूरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारबाई गरिने उल्लेख छ।

नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मानवीय क्षति थपिंदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। नगरका भारतीय सीमावर्ती नाका र गल्छिडाबाट हुने आवतजावत रोक्न थप सुरक्षा जनशक्ति खटाएको प्रजिअ भट्टराईको भनाइ छ। जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख १० देखि हालसम्म कोभिड–१९ सङ्क्रमणले १२ जनाको ज्यान लिएको छ। तीमध्ये सात जलेश्वर नगर क्षेत्रकै परेका छन्। यस अवधिमा सङ्क्रमण पुष्टि भएका ७९१ मध्ये १०० जना हाराहारी जलेश्वर नगर क्षेत्रकै परेपछि यसको रोकथाममा कठोर हुनैपर्ने अवस्थाले थप आदेश जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। जिल्लाको कोभिड–१९ व्यवस्थापन केन्द्र र राजनीतिक दल एवं सामाजिक सङ्घसंस्थाको सिफारिशमा अर्काे आदेश नभएसम्म नगर क्षेत्र पूर्ण बन्दाबन्दी रहने स्पष्ट पारिएको छ।

यस अघि गत बुधवारदेखि वैशाख महीनाभरि लागू हुनेगरी निषेधाज्ञा जारी भए पनि सार्वजनिक बसबाहेक सबै सवारी साधन चलिरहेका र बजार, चोक क्षेत्रमा स्वास्थ्य सचेतता मापदण्डविना हिंडडुल गर्ने क्रम नरोकिएपछि सर्वसाधारणको टिप्पणी बढेको थियो। आजदेखि जारी भएको पूर्ण निषेधाज्ञाको अवधिमा तोकिएका क्षेत्रमा अनावश्यकरूपमा कोही निस्के सुरक्षार्मीले तत्काल नियन्त्रणमा लिई विनामोलाहिजा कारबाई गर्ने प्रजिअ भट्टराईले जानकारी दिए।

यसैबीच जिल्लाको सुदूर उत्तरवर्ती बर्दिवास नगरपालिकाले पनि आजदेखि नै लागू हुनेगरी तोकिएका क्षेत्रबाहेकका सबै सेवा पूर्णरूपले बन्द गर्ने निर्णय गरेको छ। आजदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि जारी गरिएको सूचनामा अस्पताल (स्वास्थ्यसम्बन्धी सेवा), दमकल, एम्बुलेन्स, सुरक्षा निकाय (नगर प्रहरीसहित) र भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत प्रविष्ट एवं नाप/जाँचबाहेक सबै सेवा बन्द राख्न अपिल गरिएको छ। नयाँ भेरियन्टसहित कोरोना भाइरस फैलँदै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि यो कदम चाल्नुपरेको नगरप्रमुख विदुरकुमार कार्कीले जनाएका छन्।

कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा यसको रोकथाम, नियन्त्रणका लागि सबै स्थानीय तहले पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मीले सुझाएका छन्। यसका लागि क्वारेन्टिन केन्द्र र आइसोलेशन व्यवस्थापन, पिसिआर परीक्षण र उपचार प्रबन्ध एवं गरीब र असहायको छनोट गरी खानपिनको चाँजो मिलाउन स्थानीय तहले पहलकदमी लिनुपर्ने स्वास्थ्य क्षेत्रको लामो सरकारी सेवाबाट अवकाश लिएका बर्दिबास–१ का बासिन्दा स्वास्थ्यकर्मी राधेश्याम झाको सुझाव छ।

यसबीच जिल्लाको गौशाला नगरपालिकाले १५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ भने बर्दिवास नगरपालिकाले ५० शय्याको आइसोलेशन कक्ष दुर्ई दिनभित्रै सञ्चालन गर्नेगरी तयारी गरिएको जनाएको छ। जिल्लाका अन्य स्थानीय तहले पनि आवश्यक पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मी झा औंल्याउँछन्। जिल्लामा १० नगरपालिका र पाँच गाउँँपालिकासहित १५ स्थानीय तह छन्। भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र छ स्थानीय तह भारतसँग जोडिएको छ। ती स्थानीय तहको भूमिका अझ बढी हुनुपर्ने झाको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here