काठमाडौं, २७ वैशाख/रासस
प्रधानमन्त्री केपीशर्मा ओेलीले संविधान अनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेका प्रस्ताव असफल भएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए। त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गरेका थिए। बैठकमा २३२ सांसद उपस्थित भएको सभामुख सापकोटाले जानकारी दिए।
विश्वासको मतका पक्षमा सत्तारूढ दल नेकपा (एमाले)लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव विफल भएको हो।
एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो। प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र प्रतिपक्षी नेकपा
(माओवादी केन्द्र)ले मतदात गरेका थिए। जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले विपक्षमा मतदान गरे। मतविभाजनका लागि हुन्छ, हुन्न र दिन्नँ भन्ने तीन तरीका व्यवस्था गरिएको थियो।
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक पथ्र्याे। मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ। प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो।
एमालेका १२१, माओवादी केन्द्रका ४८, काङ्ग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो। प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्नेछ।