झापा, २५ वैशाख/रासस
लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका आक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ। दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ।
मेडिकलबाहेक अन्य प्रयोजनमा आक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए।
कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै आक्सिजन सिलिन्डरको माग बढिरहेको छ। विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पु–याएको छ।
प्रयोगविहीन र लुकाइएका आक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाए। “जुन अस्पतालमा आक्सिजन अभाव हुन्छ, त्यहीं उपलब्ध गराउँछौं,” प्रजिअ तिम्सिनाले भने, “आक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौं।”
झापामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ। मेची प्रादेशिक अस्पतालमा रहेको ७५ शय्याको कोभिड अस्पतालमा ५० शय्या सङ्क्रमितले भरिसकेको छ।