सर्लाही, २४ वैशाख/रासस
नेपाल–भारत सीमानाकानजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरू आउने गरेका छन्। सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ। सबैजसो सीमावर्ती क्षेत्रमा मदिरापसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन्।
पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै ससाना मदिरापसल सञ्चालनमा आएका छन्। यता दैनिकरूपमा मादक पदार्थ सेवन गर्न मानिसहरू नेपालतर्फ आउने गरेको गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर बताउँछन्।
भारतको बिहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिक मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन्। हाल भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिइरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरासेवन गर्न मानिस नेपाल आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ। यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकोले आवतजावतमा रोक लगाइनुपर्ने सीमा क्षेत्रका बासिन्दाले बताएका छन्।
सीमानाकामा आउने मानिसले गर्दा समस्या सृजना हुन सक्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए। सीमा क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरू खुला रहेकाले सुरक्षाको दृष्टिले कस्ता मानिसको आवतजावत छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ।