चितवन, २१ वैशाख/रासस
अन्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो। लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ।
नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अन्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ। यस अघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो। ओलीको भनाइमा चार वर्ष अघि अन्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो। यसै वर्ष दुर्ई महीना अघि पनि प्रतिक्रेट अन्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो।
एच ९ र रानीखेत रोगका कारण झन्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन्। ओलीका अनुसार दैनिक २४ लाख अन्डा उत्पादन हुँदै आएकोमा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ। अन्डाको उत्पादनमा कमी आएको कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अन्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन्। दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अन्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यस अघि प्रतिकिलो रु ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको छ। त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ। तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो रु सातले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायत सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए।
यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ। लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुश्किल हुने भएकोले पटकपटकगरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ। हाल लेयर्स दानाको मूल्य सरदर रु ६० प्रतिकिलो पर्न आउँछ।
देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अन्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए। नेपालमा दुर्ई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन्।
यी फार्ममा दुर्ई लाखभन्दा बढीले प्रत्यक्ष रोजगार पाएको व्यवसायी बताउँछन्। नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरूको भनाइ छ।