प्रस, रौतहट, २० वैशाख/
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरूमा ७१ शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ।
पहिलो चरणमा चन्द्रनिगाहपुरमा ४६ शय्या र गौर अस्पतालमा १५ शय्याको कोभिड अस्पताल सञ्चालन हुनेछन्। आक्सिजनसहितको एचडियू शय्या, आइसियू र भेन्टिलेटरसमेतको व्यवस्था गरेर अस्पताल सञ्चालन हुन लागेको हो। गौर अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि तत्काल १० शय्याको आइसियू, ४ वटा भेन्टिलेटर तथा १५ वटा एचडियू शय्या सञ्चालन हुने अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण साहले बताए। उनले सङ्क्रमितको उपचारको लागि आवश्यक पर्ने सबै तयारी अन्तिम चरणमा रहेको बताए। गौर अस्पतालको माथिल्लो तलामा कोभिड बिरामीका लागि एचडियू शय्या, आइसियू र भेन्टिलेटरसहितको कक्ष तयार भइरहेको उनले बताए।
गौर नगरपालिकाले गौर नर्सिङ इन्स्टिच्युटमा १० शय्याको छुट्टै कोभिड अस्पताल सञ्चालन गर्ने नगरप्रमुख अजय गुप्ताले बताए।
जिल्लामा तीन स्थानबाहेक अन्य नगरपालिकाले पनि ५ देखि १० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिरहेका छन्। गौर अस्पतालमा ३२ शय्याको कोभिड वार्ड बनाइएको उनले बताए।
चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिकाले संयुक्तरूपमा चन्द्रपुरको शहीदपार्कमा ४६ शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।