गढीमाई मन्दिरका पुजारीको देहावसान


प्रस, गरुडा, ५ भदौ/
    बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारीको देहावसान भएको छ। रौतहटको गुजरा नगरपालिका–३ सिमरी गाउँका स्थायी निवासी दुखन धामीको ७६ वर्षको उमेरमा शुक्रवार देहावसान भएको हो।
    बरियारपुरमा गढीमाईको मन्दिर स्थापना भएदेखि नै वंशानुगतरूपमा पूजा गर्दै आएका धामीको सिमरीस्थित घरमा पनि गढीमाई मन्दिर रहेको छ। हरेक दिन अनिवार्यरूपमा घरको मन्दिरमा पूजा गर्ने चलन रहेको धामीको परिवारबाटै बरियारपुरस्थित मूल मन्दिरमा पुजारी रहने प्रचलन रहेको छ।
    बाराको बरियारपुरको गढीमाई मन्दिर विश्वमैं पशुबलिको लागि प्रसिद्ध रहेको छ। पाँच वर्षमा लाग्ने महागढीमाई मेला गत वर्ष मङ्सिरमा सम्पन्न भएको थियो। मङ्सिरमा धामीले नै मुख्य पुजारीको रूपमा गढीमाईको पूजा गराएका थिए।
    सिमरीस्थित घरमैं बस्दै आएका धामीलाई दुई दिनदेखि झाडापखाला लागेको थियो। गाउँमा सामान्य उपचारपछि बाराको निजगढस्थित अस्पतालमा उपचारका लागि लगिएका धामीलाई थप उपचारको लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमैं देहावसान भएको धामीका भतिजा विन्देश्वर धामीले बताएका छन्।
    पुजारी धामीका उमाशङ्कर धामी र उमेश धामी गरी दुई छोरा छन्। उनकै वंशजबाट गढीमाई मन्दिरको पुजारी रहने परम्परा रहेकोले गढीमाईले जसलाई चाहेमा उनी नै पुजारी बन्ने विन्देश्वर धामीको भनाइ छ।
    पुजारी धामीको गाउँनजीकै बकैया खोलामा अन्तिम संस्कार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here