प्रस, वीरगंज, १७ वैशाख/
प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले महामारीको अवस्थाबारे जानकारी लिन शुक्रवार प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेका छन् ।
प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे प्रजिअहरूसँग सुझाव लिन मुख्यमन्त्री गद्दीले भर्चुअल संवाद गरेका हुन् । मुख्यमन्त्रीले महामारीको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन प्रजिअहरूलाई निर्देशन दिए । प्रदेश सरकारले ८ वटै जिल्लामा पिसिआर मेशिन सञ्चालनमा ल्याइसकेको हुँदा समस्या नहुने बताए ।
छलफलमा आठवटै जिल्लाका प्रजिअले कोरोना महामारी नियन्त्रणका लागि प्रत्येक जिल्लामा होल्डिङ सेन्टरहरूको निर्माण गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रदेश सरकारबाट प्रमुख सचिव गोकर्णमणि दवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरूसहितको सहभागिता रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यसैगरी, प्रदेश २ सरकारले रेमडिसिविर एक हजार भाइल खरीद गर्ने निर्णय गरेको छ । बिहीवार बसेको कोरोना नियन्त्रणबारे उच्चस्तरीय समितिको बैठकले सो खरीद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कोरोना सङ्क्रमितको लागि महŒवपूर्ण औषधि मानिएको रेमडिसिविर खरीद गर्न तत्काल प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णय गरेको बताइएको छ ।
यसैगरी, थप आक्सिजन सिलिन्डर खरीदका लागि प्रदेशभरिका १४ वटा सरकारी अस्पताललाई ५/५ लाखको दरले कोष उपलब्ध गराउने निर्णय भएको छ ।
महामारी रोग रोकथाम तथा उपचार कोषबाट यो रकम उपलब्ध गराउने निर्णय भएको हो । यसैगरी, आठवटै जिल्लामा पिसिआर परीक्ष्ँण मेशिन सञ्चालनमा आइसकेको र सोको लागि जनशक्ति अभाव भएकोले सोको पूर्ति गर्ने निर्णय भएको बताइएको छ ।
मुख्यमन्त्री लालबाबूराउत गद्दीको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दवाडीलगायतको सहभागिता थियो ।