यसपालि देवती पटेलले डेरा लिनुप–यो

सुषमा शर्मा, वीरगंज, १६ वैशाख/
नारायणी अस्पतालमा डायलोसिस गराउँदै आएका रौतहट, गरुडा नगरपालिका निवासी २८ वर्षीय देवती पटेलले निषेधाज्ञामा भाडामा कोठा लिएर बस्नुपरेको छ।
यसअघि रौतहटबाट दैनिक डायलोसिसको लागि अस्पतालमा आउने गरेका उनले निषेधाज्ञा लागेपछि डेरा लिनुपरेको हो। डेरा लिनुको कारण भने गत वर्ष लकडाउनमा सुरक्षाकर्मीबाट कुटिएकोले हो।
गत वर्षको कोरोनाकालमा लागेको लकडाउनमा उनले दैनिक आवतजावत गर्ने मनसाय बनाएका थिए तर सुरक्षाकर्मीले वीरगंजमा उनलाई कुटेर खुट्टा भाँचेपछि यसपटक उनले भाडामा कोठा लिएर बस्नुपरेको बताए। सुरक्षाकर्मीले कुन प्रयोजनको लागि आएको भन्ने सोधखोज नै नगरी भएको मेडिकल रिपोर्ट पनि नहेरी लाठीचार्ज गरेकोले यसपटक आफूले जोखिम नलिएर डेरामा बस्नुपरेको दुःखेसो पोखे।
२८ वर्षीय पटेलको दुवै मिर्गौलाले काम नगरेपछि उनले नियमित डायलोसिस गराउँदै आएका छन्। उनीजस्तै नारायणी अस्पतालमा १४ जना नियमित डायलोसिस गराउँदै छन्। उनीहरूमध्ये केही स्थानीय भएपनि केही बाहिरकाहरूलाई पटेलसरहकै समस्या छ। डायलोसिस निश्शुल्क भएपनि कोठा लिएर बस्न, खान समस्या झेल्नुपरेको देवती पटेलले बताए। सामान्य परिवारको भएकोले नियमित डायलोसिसका लागि आर्थिक समस्या झेल्दै आएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here